काँग्रेस महासमिति बैठक अन्तर्गत बन्दसत्र जारी


नेपाली काँग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठकको बन्दसत्र जारी छ । बन्दसत्रमा केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरेका विभिन्न प्रतिवेदन पेश भइरहेका छन् ।

आज पार्टीभित्रको गुटउपगुट अन्त्य गरेर पार्टी एकताको सन्देश दिने विषयमा छलफल भइरहेको महासमिति सदस्य रामहरि खतिवडाले जानकारी दिनुभयो । 

महासमिति बैठकलाई सम्बोधन गर्दै काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले सरकार संविधान कार्यान्वयन र संघीयता कार्यान्वयनमा गम्भीर नभएको आरोप लगाउनुभएको छ । नेकपाकै नेताहरुले सरकारको आलोचना गरेको सन्दर्भमा काँग्रेसको नेता कार्यकर्ताहरु पार्टी नेताको आलोचनामा नै रमेको भन्दै देउवाले सरकारका गलत कामको विरोध गर्न आग्रह गर्नुभयो ।

लोकतन्त्र र प्रजातन्त्रका लागि सँगै आन्दोलनमा सहभागी भएका नेता कार्यकर्ताहरु एकता भएर अगाडि बढ्न आवश्यक भएको काँग्रेस नेता रामचन्द्र पौडेलको भनाई थियो । देशमा गम्भीर संकट रहेको उल्लेख गर्दै नेता पौडेलले सुशासन कायम गर्न नेतृत्व नै सुधार हुनुपर्ने बताउनुभयो ।

नेता रामशरण महतले काँग्रेसले आधुनिक नेपालको शुरुवात काँग्रेसले गरेको उहाँको भनाई थियो । विपी कोइरालाको समाजवादी नीतिमा कम्युनिष्टहरु आइपुगेको उहाँको जिकीर रहेको थियो ।

बन्दसत्रमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा. शशाङ्क कोइरालाले सांगठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नुभएको बताइएको छ ।

विधान मस्यौदा बाहेक सबै प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरिसकेको छ भने विधान मस्यौदामा पदाधिकारी संख्या र पदाधिकारीको निर्वाचनबारे अझै सहमति जुट्न सकेको छैन । पेश गरिएका प्रतिवेदनमाथि छलफल गर्न महासमिति सदस्यलाई प्रदेशस्तरीय रुपमा सात समूहमा विभाजन गर्ने वा समावेशी रुपमा विभाजन गर्ने भन्नेमा सहमति जुटाउने प्रयास भइरहेको छ ।

Facebook Comments