‘कर्मचारी समायोजन अध्यादेश’ विरुद्ध स्थानीय तहका कर्मचारी आन्दोलित

‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीआवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन, नेपाल लगायतका संघ÷संगठनले कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरुलाई विभेद गरेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलित बनेका हुन् ।

निजामती कर्मचारी र आफूहरुलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि यस अध्यादेश विरुद्ध आन्दोलन गर्नुपरेको पोखरा महानगरपालिकामा संघर्ष समितिका धुव्र भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कर्मचारीहरु आन्दोलनका कार्यक्रम अन्तर्गत कार्यालयमा धर्नामा बसेका छन् ।

घोषित आन्दोलन अन्तर्गत कार्यालयमा काम नगर्ने, कालोपट्टी बाँध्ने, धर्ना बस्ने लगायत रहेका छन् ।
संघले साविकको स्थानीय निकायमा कार्यरत श्रेणीविहिन कर्मचारीको तह, सेवा र सुविधा तत्काल वृद्धि गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

सरकारले प्रदेश र स्थानीय तहको कर्मचारी समायोजनको नाममा निजामती कर्मचारीलाई मात्रै प्रोत्साहन गर्ने काम गरेकोमा स्थानीय तहमा कार्यरत कर्मचारीको आपत्ति छ छ ।

यसअघि स्थानीय तह कर्मचारी संघका अध्यक्ष हरिकुमार श्रेष्ठले काठमाडौंमा पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलनको घोषणा गर्नुभएको थियो । कार्यक्रम अनुसार यही पुस १० गते काठमाडौंमा विरोध सभा आयोजना गर्ने र सभामा थप सशक्त कार्यक्रम घोषणा गर्ने जानकारी दिइएको छ ।

Facebook Comments