नेकपा बैठक : फरक मतलाई मजाक गरेको भन्दै प्रधानमन्त्रीको आलोचना


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक जारी रहेको छ । सोमबारको बैठकको शुरुवातमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्माओलीले राजनीतिक प्रस्तावको महत्वमाथि आफ्ना धारणा राख्दै छलफलका लागि आग्रह गर्नुभएको थियो ।

बैठकमा नेताहरु बामदेव गौत्तम, अग्नी सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुषल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, वेदुराम भुषाल र शक्ति बस्नेतले आफ्ना धारणा राख्नुभएको महासचिव विष्णुप्रसाद पौडेलले विज्ञप्ति मार्फत् जानकारी दिनुभएको छ ।

बैठक मंगलबार ८ बजदेखि पार्टी केन्द्रीक कार्यालयमा पुनः बस्ने गरी स्थगित भएको पार्टी विज्ञप्तिमा जनाइएको छ । बैठकमा नेता बामदेव गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आफ्नो फरक मतलाई मजाक बनाएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । आफ्नो फरक मतको पक्षमा मत राख्दै नेता गौतमले प्रधानमन्त्री ओलीप्रति तीव्र आक्रोश व्यक्त गर्नुभएको हो ।

आफ्नो फरक मतलाई मजाक बनाएको र हल्का टिप्पणी गरेको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले माफी माग्नुपर्ने गौतमको माग थियो । आइतबार सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले ठट्टाको शैलीमा संविधानमा व्यवस्था भएको भन्दै पार्टीमा जस्तै २ प्रधानमन्त्री बनाउन हुन्थ्यो भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

नेता गौतमले भने पार्टी बैठकमा उठेको कुरालाई सार्वजनिक रुपमा मजाकको विषय बनाएकोमा आपत्ति जनाउनुभयो । नेता गौतमले मजाकको विषय नभएको भन्दै २ तिहाई रहेकाले संविधान संशोधन गरेर दुई जना प्रधानमन्त्री बनाउनुस् भन्दै जवाफ समेत फर्काउनुभएको थियो ।

पार्टी र सरकार स्वेच्छाचारी ढंगले चलाएको र हावादारी कुरा गरेको भन्दै ओलीमाथि गौतमको कडा आलोचना गर्नुभएको श्रोतले जनाएको छ । बामदेवको फरक मतमा प्रधानमन्त्रीका रुपमा ओली व्यस्त भएर पार्टी अध्यक्षको जिम्मेवारी पुरा गर्न नसकेकाले एक व्यक्ति एक पदलाई कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।

Facebook Comments