साउदी पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणमा विश्वसनीय छानविन गर्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले साउदी पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणमा विश्वसनीय छानविन गरी वास्तविकतालाई बाहिर ल्याउन आग्रह गर्नुभएको छ । टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका खशोग्जीको विषयमा राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले चासो व्यक्त गर्नुभएको हो ।

टर्कीकी एक महिलासँग बिहेको छिनोफानो गरेका खशोग्गीको आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गर्नुपर्ने कानुनी प्रक्रियाका लागि साउदी दूतावासमा गएका बेला दूतावासभित्रै गत अक्टोबर २ मा हत्या भएको थियो ।

दोहामा आयोजित एक पत्रकार सम्मेलनमा महासचिव गुटेर्रेसले पत्रकार खशोग्जीको हत्याबारे विश्वसनीय अनुसन्धान गरी दोषीलाई सजाय दिनुपर्ने बताउनुभएको हो । उहाँले सञ्चारमाध्यममा आएका रिपोर्टबाहेक आफुलाई घटनाबारे थप सूचना नरहेको पनि उल्लेख गर्नुभयो ।

साउदी अरबका राजकूमार मोहम्मद विन सलमानका कट्टर आलोचक रहेका वासिङ्टन पोष्टका लागि काम गर्दै आएका पत्रकार खशोज्जीको हत्यामा संलग्न आरोपित व्यक्तिहरूलाई टर्की सुपुर्दगी गर्न टर्की सरकारले गरेको आग्रहलाई साउदी अरबले अस्वीकार गर्दै आएको छ ।

घटनाबारे चासो राख्ने राजनीतिक विश्लेषकहरूले घटनामा साउदी अरबका शक्तिशाली राजकुमार मोहम्मद विन सलमानको अप्रत्यक्ष संलग्नता रहेको जनाएका छन् भने साउदी अरबले यसको खण्डन गर्दै आएको छ ।

Facebook Comments