आर्थिक विकासको यात्रामा हस्तक्षेप अस्वीकार्य : चिनियाँ राष्ट्रपति सी


चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको आर्थिक विकासको यात्रामा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताउनुभएको छ । संयुक्तराज्य अमेरिका र युरोपका देशहरुले लामो समयदेखि चीनको विशाल बजारमा सहज पहुँचको माग गरिरहेको सन्दर्भमा सीको यस्तो धारणा सार्वजनिक भएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गरेको ऐतिहासिक ‘सुधार एवं खुला नीति’को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेको र त्यसलाई छाड्न नसकिने बताउनुभयो ।

चिनियाँ ‘ग्रेट हल अफ द पिपुल’मा आयोजित भव्य समारोहमा राष्ट्रपति सीले आर्थिक सुधारका क्षेत्रमा चीनले थप कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । उहाँले राजनीतिक प्रणाली परिवर्तन नहुने, अन्य मुलुकको हस्तक्षेप स्वीकार नगर्ने तथा समाजवादको झन्डा चिनियाँ भूमिमा अझै उचाइका साथ फहराउने बताउनुभयो ।

राष्ट्रपति सीले चीनको कम्युनिस्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाजवादको प्रतिरुप रहेको उल्लेख गर्दै समाजवादी प्रणालीको ठूलो उपलब्धि भएको बताउनुभयो । चिनियाँ सुधार एवं खुला नीति देङ सियाओपिङको कार्यकालमा सन् १९७८ डिसेम्बर १८ मा शुभारम्भ भएको थियो ।

देङको खुला नीतिले करोडौं चिनियाँ जनतालाई गरिबीबाट मुक्त गरेको विश्वास गरिन्छ । साथै, यही नीतिको बलमा चीनले आफूलाई विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुककारुपमा उभ्याएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्से तुङका नीतिहरुले मुलुकमा विषम परिस्थिति सिर्जना गरेको भन्दै देङ सियाओपिङको नेतृत्वमा सुधार एवं खुला नीति प्रतिपादन गरिएको थियो ।

मंगलबार ग्रेट हल अफ द पिपुलमा आयोजित समारोहमा मुलुकको विकासमा महत्वपूर्ण योगदान गरेका १०० भन्दा बढी व्यक्ति एवं संस्थालाई विशेष पदकद्वारा विभूषित गरिएको थियो । ४० वर्षअघि ग्रामीण क्षेत्रमा ९७.५ प्रतिशत रहेको गरिबी गत वर्षसम्म आइपुग्दा ३.१ प्रतिशतमा झरेको छ ।

Facebook Comments