१५ औं संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा


१५ औं संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ । पोखरा महानगरपालिकाको तालचोकमा पुस ५ देखि १६ गतेसम्म हुने महोत्सवको तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

महोत्सवको संघीय सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा औद्योगिक उत्पादन तथा हस्तकलाका उत्पादनको बजार प्रबद्र्धन, स्थानीय उत्पादन, लघु तथा घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, उद्यमशीलता र प्रविघि हस्तान्तरण, दैनिक उपभोग्य बस्तु तथा सेवाको प्रवद्र्धन लगायतका उद्देश्य राखिएको छ ।

जातीय भेष भुषा, कला संस्कृति र रीति रिवाजको जर्गेनामा टेवा पुर्याउने साथै आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा समेत महोत्सवले सहयोग पुग्ने आयोजक लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले उल्लेख गर्नुभयो ।

महोत्सवमा ३५० स्टल रहेकामा अटोका ९, शैक्षिक २०, कृषि सम्बन्धि २२, किचनका ३२, मेशीनरी २१, हस्तकलाका सामानको ९, गार्मेन्टका ११०, जुत्ताको १०, औद्योगिक उत्पादनका १३, फुड तथा बेभरेजको ३२, डेरी १०, सूचना प्रविधि १९, रेष्टुरेन्ट १६, बैंक तथा वित्तीय संस्थाको २७ स्टल रहने प्रचार प्रसार समितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिनुभयो ।

महोत्सवमा शैक्षिक प्रदर्शनी, खुल्ला कविता प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, उत्कृष्ट साँस्कृतिक प्रदर्शनी, विभिन्न जाति समुदायका भेष भेषा झल्कने झाँकी तथा र्याली, गण्डकी तारा गायन प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रम समावेश गरिएको छ ।

महोत्सव अवलोकनका लागि प्रवेश टिकट साधारण प्रति दिन रु ६०, विद्यार्थीलाई रु ४०, कन्सर्टका लागि रु १०० तथा महोत्सव अवधिभरको प्रवेश पासका लागि रु २५० शुल्क तोकिएको पनि आयोजकले जानकारी दिएको छ । यसका साथै महोत्सव अवलकोनका लागि जाने ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा एकल महिलालाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने, २० करोडसम्मको कारोबार हुने अपेक्षा आयोजकको छ । त्यस्तै महोत्सवबाट १ करोड २५ लाख आम्दानी र ९० लाख खर्च हुने अनुमान आयोजकको रहेको छ । महोत्सवबाट बचत हुने आयबाट कृषि उपज खरिद बिक्री केन्द्र निर्माण तथा प्रदर्शनी स्थलको स्तरोन्नत्ती गर्ने आयोजकले जनाएको छ ।

Facebook Comments