नेकपा स्थायी कमिटी बैठकमा नेतृत्वको आलोचना


नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको मंगलबारको बैठकमा पनि सरकार र पार्टी नेतृत्वको आलोचना भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि भएको छलफलका क्रममा स्थायी कमिटीका सदस्यले नेतृत्वको कार्यशैलीलाई लिएर आलोचना गरेका हुन् ।

सरकार र पार्टी सञ्चालनमा नेताहरुले गम्भीर असहमति जनाएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीको सरकार सञ्चालन प्रक्रिया सन्तोषजनक नभएको उल्लेख गर्दै पार्टीलाई दीर्घकालीन असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार आफ्नो धारणा राख्ने ८ जना स्थायी कमिटी सदस्यमध्ये केहीले भने नेतृत्वको बचाउ गरेका थिए । बैठकमा नेता भीम रावलले १४ पृष्ठ लामो विचार टिप्पणी र सुझाव पेस गर्दै नेतृत्वको कार्यशैली सुधार गर्नुपर्ने बताउनुभयो । नेता योगेश भट्टराईले पार्टी नेतृत्वको कार्यशैली मापदन्ड अनुसार नभएको र एकलौटी ढंगले अगाडि बढेकाले त्यो रोकिनुपर्ने बताउनुभयो ।

बैठकमा केशव बडाल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी, पृथ्वी सुब्बा गुरुङले पनि आफ्नो विचार राखेका थिए । शनिबारदेखि सुरु भएको बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि हिजो भएको छलफलमा नेता वामदेव गौतम र घनश्याम भुसालले नेतृत्वको चर्को आलोचना गर्नुभएको थियो । बैठक बुधबार बिहान ८ बजे फेरि बस्ने गरी स्थगित भएको छ ।

Facebook Comments