समयमै योजना सम्पन्न गर्न उद्योग मन्त्रालयलाई गण्डकी प्रदेश अर्थ तथा विकास समितिको निर्देशन

गण्डकी प्रदेश संसदको अर्थ तथा विकास समितिले निर्धारित योजनाहरु समयमै सम्पन्न गर्न उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकमा मन्त्रालयका मन्त्री विकास लम्सालसँगको अन्तरक्रियापछि यस्तो निर्देशन दिइएको हो ।

अहिलेसम्मको मन्त्रालयको कार्य प्रगति हेर्दा ८० प्रतिशत कार्य सम्पादन हुने अवस्था पत्यार लाग्दो नभएको भन्दै तिव्र गतिमा योजनाहरु कार्यान्वयनमा लाग्न निर्देशन दिइएको समितिको सभापति दीपक कोइरालाले जानकारी दिनुभयो ।

बैठकमा गण्डकी प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री विकास लम्सालले मन्त्रालयले हालसम्म गरेका कार्यहरुको प्रगति विवरण जानकारी गराउनुभएको थियो । उहाँले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा उद्योग ग्राम स्थापना तथा पर्यटन प्रबद्र्धनका होमस्टे सम्बन्धि कार्य प्रारम्भ भएको बताउनुभयो ।

मन्त्री लम्सालले विनियोजित नीति तथा कार्यक्रम र बजेटमा ८० प्रतिशतभन्दा बढी कार्यान्वयन गरेर विशिष्ट कार्य सम्पादन गर्ने योजना रहेको बताउनुभयो । उहाँले प्रदेश मन्त्री परिषद् बैठकले सातवटै प्रदेशको सहमति लिएर पोखरालाई पर्यटकीय राजधानी बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्री लम्सालले प्रदेशका पर्यटकीय क्षेत्रबारे विवरण संकलन, मन्त्रालयसँग सम्बन्धित स्थितिपत्र प्रकाशन लगायका कार्य भएको तथा प्रारम्भिक चरणमा ऐन नियम निर्माण, कार्यविधि निर्माणमा व्यस्त हुनुपरेको उल्लेख गर्नुभयो ।

बैठकमा सांसदहरुले स्थानीय तहसँगको साझेदारी बढाउनुपर्ने, प्रदेश सरकारकै पहलमा गोरखकाली टायर उद्योग, भृकुटी कागज उद्योग लगायतका जीर्ण उद्योगलाई पुनः सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए । साथै उनीहरुले स्थानीय नागरिकसम्म सूचना पुग्न नसकेको भन्दै मन्त्रालयका कार्ययोजनाबारे प्रचार प्रसारको खाँचो पनि औल्याएका थिए ।

ढुंगा, बालुवा र गिटीको अत्याधिक दोहन हुने गरेको, बन्यजन्तुको तस्करी हुने गरेको, भन्सारबाट राजस्व छलेर सामान ओसार पोसार भइरहेको लगायतका विषयमा सांसदहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

Facebook Comments