गोरखकाली रबर उद्योग सञ्चालन गर्न अर्थ तथा विकास समितिको सुझाव


गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले गोरखा जिल्लामा रहेको गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्न सुझाव दिएको छ । हाल बन्द रहेको रबर उद्योगको स्थलगत अध्ययन एवं निरीक्षण गरेको समितिले उद्योग सञ्चालन गर्न गण्डकी प्रदेश सरकार एवं उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयलाई सुझाव दिएको हो ।

समितिले प्रदेशकै ठूलो नेपालकै एकमात्र रबर उद्योगलाई सञ्चालन गर्न सकेमा व्यापार घाटा कम हुने तथा टायरमा आत्मनिर्भर बन्न सकिने निष्कर्ष निकालेको छ । रोजगारी सिर्जना एवं कच्चा पदार्थको लागि आवश्यक रबर प्लान्टको खेती गरेर कृषकहरुको आर्थिक स्तरमा समेत सुधार गर्न सकिने संभावना रहेको समितिको ठहर रहेको छ ।

चालू पूँजीको अभाव, उत्पादन क्षमताको न्यून प्रयोग, पुराना प्रविधि र मेसिन, दक्ष जनशक्तिको अभाव, बजार व्यवस्थापन हुन नसक्नु लगायतका कारणले उद्योग बन्द अवस्थामा पुगेको समितिको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

उद्योग सञ्चालनका लागि २ अर्व भएमा अत्याधुनिक ढंगले सञ्चालन गर्न सकिने तथा पूर्ववत अवस्थामा सञ्चालनका लागि १ अर्व रकम आवश्यक हुने पनि समितिले जनाएको छ । णस्तरीय उत्पादन भएकाले बजारको कुनै समस्या नभएको पनि समितिको प्रतिवेदनमा उल्लेख छ ।

यस उद्योगको पुनः सञ्चालन भएमा राष्ट्रकै गौरव बढ्ने समितिको ठहर रहेको छ । २०४१ सालमा निर्माण शुरु भई २०४९ साल मंसिर २९ गतेबाट टायर उत्पादन थालेको रबर उद्योग गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १४ को मझुवामा ६ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

Facebook Comments