कृषि मन्त्री संग किसानको गुनासो, उत्पादन गरे पनि उचित बजार पाएनौ

स्याङजाका किसानहरुले कृषि उपजको उचित मुल्य पाउन नसकेको गुनासो गरेका छन् । गण्डकी प्रदेशको भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रलायको कार्यक्रम कृषकसंग कृषिमन्त्री कार्यक्रममा कृषकहरुले यस्तो गुनासो गरेका हुन् ।

किसानको समस्या बुझन किसानकै घरमा पुग्नुभएका भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगर समक्ष जिल्लाको वालिङ नगरपालिका वडानं ४, एलादी खाल्टेका किसानहरुले दुःख गरेर उत्पादन गरेका कृषि उपजको बजार भाउ नहुने गुनासो गरेका हुन् ।

बजारमा सुन्तला एक सय रुपैयाँमा विक्री हुँदा पनि त्रियासी कृषि उपज संकलन केन्द्रमा आएका ब्यापारीले भने सुन्तलाको मुल्य प्रति केजी १५–२० भन्दा नदिने गरेको कृषकहरुको भनाई छ । सुन्तला मात्र नभई गोलभेडा, काउली, बन्दा लगायतका तरकारीको पनि उचित मुल्य नपाएको उनीहरुको गुनासो रहेको छ।

वालिङ नगरपालिका वडा नं ४ का वडा अध्यक्ष रनध्वज गुरुङ, कृषक किरण गुरुङ, चोलाकान्त रिजाल, कमलप्रसाद गुरुङ खेमराज गुरुङ लगायतले बजार भाउसंगै बादर र मृगले लगायतका जंगली जनावरले पनि कृषि उपजमा क्षति पु¥याउने गरेको, स्रोत हुँदा हँुदैपनि सिंचाई व्यवस्थापन हुन नसकेको गुनासो गरेका थिए ।

किसानको समस्या सुन्न गाउँ पुग्नुभएका मन्त्री लेखबहादुर थापामगर शुरुमै सुन्तलाबारी होमस्टे र त्यहाँको किसानको प्रसंसा गर्नुभयो । मन्त्री थापामगरले प्रदेशभरीकै किसानको समस्या उस्तै–उस्तै भएकाले कृषि नीति मार्फत् समस्याको समाधानका लागि पहल गर्ने बताउनुभयो ।

किसानको समस्या ठीक ढंगले सम्बोधन गर्ने बताउदै किसानको पीरमर्का प्रत्यक्ष रुपमा बुझनको लागि महिनामा एक पटक कृषक संग मन्त्री कार्यक्रम लिएर गाउँ गाउँ पुग्ने गरेको बताउनुभयो । उहाँले सवै गाउँ एलादी खाल्टे सुन्तलाबारी जस्तै बनाउन सके देशले कोल्टो फेर्ने बताउनुभयो ।

सुन्तलाबारी होमस्टे देशकै लागि एक सिकाई बन्ने मन्त्री थापाले कृषि उत्पादनले उचित मुल्य पाउने अवस्थ सिर्जना गर्ने बताउनुभयो । बादर मृगको समस्या धेरै ठाउँमा सुनेको भन्दै प्रदेशले समाधानको लागि गृहकार्य गरेको बताउनुभयो ।

वालिङ नगरपालिका मेयर दीलीपप्रताप खाँणले प्रदेशसंगको सहकार्यमा नगरपालिकाकाले काम गर्ने बताउदै बाँदर र मृगले धपाउनको लागि यन्त्रको परिक्षण भइरहेको जानकारी दिनुभयो । कृषि उत्पादन हुने गाउँमा ती यन्त्रण जडान गर्ने मेयर खाँणको भनाई छ ।

अहिले परिक्षण भइरहेको जानकारी दिदै उहाँले किसानको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । बजार ब्यबस्थापनको लागि १० करोडको लागतमा वालिङमा उत्पादन हुने सवै कृषि उपज बेच्नका लागि वालिङसंगै पोखरा र काठमाडौमा समेत ब्यबस्था मिलाउने तयारी भइरहेको बताउनुभयो ।

भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रलायका सचिव शरदचन्द्र श्रेष्ठले किसानको कुरा सुन्नेमात्रै नभएर कार्यान्वयन गर्नको लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । स्थानीय तह ,प्रदेश र संघ विच समन्वय गर्दे कृषि उत्पादन बढाउनुपर्ने उहाँको भनाई थियो ।

प्रदेश सरकार कृषिको विकासको लागि कृषि मैत्री नीति निर्माण गरेर कार्यान्वयनको फेजमा जान थालेको बताउनुभयो । कार्यक्रममा मन्त्रालयका बरिष्ठ अधिकृत डाक्टर दिर्घ ढुङगाना, माधब लम्साल लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।

Facebook Comments