मुलुकभर एउटै शिक्षा नीति : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभर राष्ट्रिय शिक्षा नीति अनुरूप कै शिक्षा पद्धति अवलम्वन गर्नुपर्ने बताउनुभएको छ । नीतिस्थानीय तहले पनि सोही अनुरुपको शिक्षा नीति तय गर्नुपर्ने उहाँले बताउनुभयो । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आज कामाडौंमा आयोजना गरेको राष्ट्रिय शिक्षा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो

अहिले शिक्षाको नीति नियम बनाउने अभिभारा प्रदेश र स्थानीय तहलाई पनि दिइएको उल्लेख गर्दै प्रधानमन्त्रीले ती निकायले पनि राष्ट्रिय शिक्षा नीतिको अनुसरण गर्नु पर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले नेपालमा अझै पनि धेरै बालबालिका विद्यालय बाहिर रहेको बताउँदै उनीहरूलाई विद्यालय भर्ना गराउन सरकार प्रयासरत भएको बताउनुभयो ।

नेपालीहरू विद्धान पूर्खाका सन्तान भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीले आफ्नो रुची अनुसारको अध्ययन गर्ने अवसर नपाउँदा पछि परेको बताउनुभयो । अभिभावक र विद्यालयको रुची अनुसार पढ्नुपर्दा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रष्फुटन गर्न नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

महँगो शुल्क लिएर पढाइरहेका निजी विद्यालयहरूलाई पैसाको लोभमा विद्यार्थीको रुचीलाई बमार्न उहाँले आग्रह गर्नुभयो । नेपाललाई विकासमा नेतृत्व गर्नसक्ने जनशक्ति आवश्यक परेकोले त्यसै अनुसारका विषय छनोट गरेर पठनपाठन हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

नेपालको संविधान र नयाँ संघीय संरचना अनुकुल समग्र शिक्षा प्रणालीलाई गुणस्तरीय, प्रतिस्पर्धी, जीवनोपयोगी, सुसंस्कृत र आधुनिक तथा प्रविधिमैत्री बनाई मुलुकलाई आवश्यक पर्ने जनशक्ति निर्माण गर्न प्रारम्भिक बाल शिक्षादेखि विश्वविद्यालय शिक्षा सम्मको समग्र शिक्षा नीति तथा कार्यक्रमसहितको सुझाव र कार्यान्वयन ढाँचा निर्माणका लागि सम्मेलन गर्न लागिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सातै वटा प्रदेशहरूमासमेत छलफल तथा अन्तरक्रिया गरी प्रतिवेदनको पहिलो मस्यौँदा तयार गरेको र सो प्रतिवेदनलाई एउटा राष्ट्रिय स्तरको शिक्षा सम्मेलन गरी अन्तिम रूप दिन लागिएको आयोगले जनाएको छ ।

Facebook Comments