प्राकृतिक सम्पदा संरक्षणमा स्थानीयको भूमिका महत्वपूर्णः मन्त्री लम्साल


गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीयको भूमिका अहंम हुने बताउनुभएको छ । विशेष गरी स्थानीय समुदाय र महिलाहरुको पहलका कारण मात्र प्राकृतिक सम्पदा संरक्षण हुन सकेको उहाँको भनाई छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)ले पोखरामा गरेको संरक्षणमा लैगिंक समानता र सामाजिक समावेशीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका बिषयमा विवादहरु आइरहेको सन्दर्भमा मन्त्री लम्सालले स्थानीय नागरिकसँगको सहकार्यमा अगाडि बढ्नुपर्ने बताउनुभयो । साथै उहाँले एक्यापले केही गरेन भन्ने भन्दा पनि स्थानीयले आफ्ना आवश्यकता अनुरुपका योजना माग गर्नुपर्ने बताउनुभयो ।

यस क्षेत्रको प्राकृतिक सम्पदा बन, जडिबुटी एवं बन्यजन्तु संरक्षणमा एक्यापले खेलेको भूमिका सकारात्मक रहेकाले आम्दानी बाँडफाँडको विषय आपसी सल्लाहमा सुल्झने मन्त्री लम्सालको भनाई छ ।

कार्यक्रममा एक्यापका सन्दर्भका केही भ्रम रहेको भन्दै जडिबुटीको प्रशोधन, घरायसी प्रयोजनका लागि प्रयोग हुने काठपात प्रयोग गर्न सक्ने स्पष्ट पारिएको थियो । एक्यापमा स्थानीयले केही पनि उपयोग गर्न पाउँदैनन भन्ने ढंगको बुझाई रहेको भन्दै आयोजना प्रमुख राजकुमार गुरुङले पक्रिया बमोजिम गएमा स्थानीयले आफ्ना आवश्यकता अनुसार काठ तथा अन्य प्राकृतिक सम्पदा सक्ने बताउनुभयो ।

उहाँले नेपालीलाई प्रवेश शुल्क लिने क्रम हाललाई स्थगित गरिएको, संरक्षण क्षेत्रको ऐन परिमार्जनको क्रममा रहेकाले हाल देखिएका समस्या संशोधनका क्रममा सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्ने संरक्षण क्षेत्रका स्थानीयबासीले भने एक्यापको सहयोगमा समुदायमा रोजगारी सिर्जना भएको, सचेतना बढेको तथा आर्थिक र सामाजिक जीवनस्तरमा सकारात्मक परिवर्तन आएको बताएका थिए ।

Facebook Comments