निर्वाचनको पुर्वसन्ध्यामा कंगोमा जातीय हिंसा, १ सय २० जनाको मृत्यु

अफ्रिकी मुलुक कंगोमा निर्वाचन नजिकिदै गर्दा भड्किएको जातीय हिंसाका कारण १ सय २० जनाको मृत्यु भएको छ भने ७१ जना घाईते छन् । उत्तरपश्चिमी मेई नोडोम्बे प्रदेशमा आदिवासी बाटेन्डे र बानुनु समूहबीच भड्किएको हिंसामा हताहती भएकोसमाचार संस्था रोयटर्सले जनाएको छ ।

लामो समयदेखि स्थगित राष्ट्रपतीय, संसदीय तथा प्रादेशिक निर्वाचनको तयारी भईरहँदा त्यहाँ हिंसात्मक गतिविधि बढिरहेका छन् । कंगोमा आगामी आईतबार तीनै तहको निर्वाचन हुँदैछ । निर्वाचनको तयारी तीब्र रुपमा भइरहदा बर्षौदेखि शान्त रहेका स्थानमा समेत हिंसात्मक घटना बढिरहेको रोयटर्सले जनाएको छ ।

बानुनु समुदायका प्रमुखको समाधिस्थल तथा विवादास्पद जमिन बारे भएको झगडाले उग्र रुप लिएको स्थानीय अधिकारकर्मीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । बाटेन्डे समुदायका नेताहरुले सत्तारुढ र बानुनुका नेताहरुले विपक्षीलाई समर्थन गरेका कारण दुई समुहबीच विवाद रहँदै आएको छ ।

Facebook Comments