हिन्दुराष्ट्र निर्माणका लागि फागुनदेखि आन्दोलन : राप्रपा अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस ढिलो चाँडो हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिने दावी गर्नुभएको छ । शुक्रबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले वीपीले कोइरालाले प्रतिपादन गरेको हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रमा कांगे्रस एकदिन आएरै छाड्ने विश्वास व्यक्त गर्नुभएको हो ।

राप्रपा अध्यक्ष थापाले कांग्रेसलाई हिन्दु राष्ट्रको पक्षमा साहसिक निर्णय गर्न आग्रह समेत गर्नुभएको छ । कांग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिएमा राप्रपा सहकार्य गर्न तयार रहेको बताउँदै उहाँले जारी महासमिति बैठकमार्फत कांग्रेसले हिन्दु राष्ट्रको पक्षमा साहसिक निर्णय गर्नुपर्ने बताउनुभयो ।

राप्रपाले हिजो हिन्दु राष्ट्रको एजेण्डा एक्लै बोक्नु परेपनि अहिले कांग्रेसमा हिन्दु राष्ट्रको पक्षमा आवाज उठ्न थालेको भन्दै अध्यक्ष थापाले अन्ततः कांग्रेस यसैको पक्षमा उभिने दाबी गर्नुभयो । पोखरामा पूर्वराजा ज्ञानेन्द्र आउँदा देखिएको उपस्थितिले अझै पनि जनतामा राजसंस्थाप्रति आस्था र विश्वास रहेको पुष्टि गरेको थापाको भनाई छ ।

उहाँले आगामी फागुनबाट राप्रपा हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा ‘जनसंघर्ष’ मा उत्रिने बताउनुभयो । राप्रपा अध्यक्ष कमल थापा राप्रपाको गण्डकी स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन् विहीबार पोखरा आउनुभएको हो ।

Facebook Comments