किरात उद्यौली पर्व मनाईंदै

किरात समुदायले उद्यौली पर्व मनाउँदैछन् । यो पर्वका अवसरमा साकेला शिली नाच्ने प्रचलन रहेको छ । किराँत समुदायमा मंसिर पूर्णिमाको दिनमा अन्नको सह बसोस्, अन्नमा चरा मुसा नलागोस् भनेर पितृ एवं प्रकृति पुजेर यो पर्व मनाउने गरिन्छ । नयाँ अन्न बाली भित्र्याएको खुसीयालीमा साकेला नाच्दै उद्यौली पर्व मनाउने गरिन्छ । किराँत समुदायमा पाकेको अन्न पितृलाई नचढाइ खान नहुने विश्वास रहिआएको छ ।

उद्यौली चाड १५ दिनसम्म मनाउने परम्परा भए पनि आफ्नो थातथलो छाडेर विभिन्न जिल्लामा बसोबास गर्नेहरुले पूर्णिमाको दिनमा मात्र यो पर्व मनाउने गर्दछन् । मंसिर पूर्णीमाका दिनबाट सुरु हुने उधौली पर्वलाई मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेतकारुपमा पनि लिने गरिन्छ ।

किराँत राईको सँस्कृतिलाई प्रचार–प्रसार एबं संरक्षण गर्दै पोखरामा समेत साकेला नाच्ने तथा अन्र्तक्रिया गरेर यो पर्व मनाउने गरिएको छ । पुर्वी नेपाल लगायत किरात समुदायको बस्तीमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमामा उभौली तथा अन्नबाली पाकेपछि उद्यौली पर्व मनाउने प्रचलन छ ।

उभौली र उद्यौलीलाई किरात समुदायले छोरीचेली, बाउमाईती, आफन्त, ईष्टमित्र भेटघाट गर्ने अवसरको रुपमा पनि लिने गरिन्छ । यस पर्वमा परम्परागत भेषभुषामा बालकदेखि बुढापाका पुरुष ढोलझ्याम्टा बजाउँदै र साकेला गाउँदै रमाईलो गर्ने गर्दछन् । उद्यौली र उभौलीमा मछामा, चावा, बोखोत्तो, आम्लामी, ङासा, हेच्छाकुप्पा, कुपामा, तावा, बम्लाती लगायतका लोपोन्मुख बन्दै गएको शिली नाच्ने गरिन्छ ।

Facebook Comments