अमेरिकामा बजेटमा सहमति नभएपछि सरकारी काम आंशिकरुपमा बन्द

अमेरिकामा बजेटका विषयमा रहेका असहमति अन्त्य गर्न सिनेटरहरुबीचको छलफल निष्कर्ष्विहीन भएपछि सरकारी काम आंशिकरुपमा बन्द भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसितको सीमामा पर्खाल लगाउन सरकारी कामकाज सन्चालनका लागि विभिन्न कार्यालयमा दिइने कोषबाट ५.७ बिलियन डलर छुट्याउनुपर्नेमा जोड दिँदै आउनुभएको छ ।

तर, यसमा सहमति नभएपछि सरकारका एक चौथाइ संघीय कार्यालयको दैनिक कार्यसन्चालनका लागि चाहिने रकम अभाव भएको छ । खर्चको अभावमा डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी, यातायात, कृषि, विदेश र न्याय विभागअन्तर्गत्का कार्यालय र संघीय राष्ट्रिय निकुञ्ज तथा वन कार्यालयका काम प्रभावित भएका छन् । सरकारी कार्यालय आंशिकरुपमा बन्द हुँदा हजारौं कर्मचारी तलबबिना काम गर्नुपर्ने वा अस्थायीरुपमा बिदामा बस्नुपर्ने हुन्छ ।

अमेरिकामा सरकारी कार्यालय आशिंकरुपमा बन्द भएको यस वर्षमात्रै यो तेस्रोपटक हो । ट्रम्पले चुनावी अभियानका बेला मेक्सिकोसितको सीमा क्षेत्रमा गैरकानुनीरुपमा आप्रवासीको प्रवेश रोक्नका लागि पर्खाल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

अमेरिकी सेयर बजारमा यो हप्ता दशककै ठूलो गिरावट

अमेरिकी सेयर बजारमा यो हप्ता दशककै ठूलो गिरावट आएको छ । चीनसँगको व्यापारिक सम्बन्धमा देखिएको तनाव, केन्द्रीय बैंकले ब्याजदरमा गरेको बृद्धि तथा सरकारी कामकाज ठप्प हुने सम्भावित कारणले गर्दा यो हप्ता सेयर बजारमा ठूलो गिरावट आएको हो ।

सबै बजारहरु न्यूनविन्दुमा पुगेर बन्द भएका छन् । प्रविधि क्षेत्रको सेयर मार्केट नासडाकमा यो हप्ता ८ दशमलव ३६ प्रतिशतले गिरावट आएको छ । यस्तै औद्योगिक क्षेत्रको सेयर बजार डाव जोन्समा यो हप्ता सन् २००८ यताकै ठूलो गिरावट आएको छ । डाव जोन्समा यो हप्ता ६ दशमलव ८ प्रतिशतको गिरावट आएको छ ।

यस्तै एस एण्ड पी ५०० शेयर मार्केटमा यो हप्ता ७ प्रतिशतले गिरावट आएको छ । यो सन् २०११ यताकै ठूलो मन्दी भएको बताइएको छ । सेयर बजारमा लगातारको बढोत्तरीपछि भएको गिरावटले औद्योगिक क्षेत्रको मुनाफामा कमी आउने सम्भावना रहेको विश्लेषकहरुले बताएका छन् । यस्तै अमेरिकाको आन्तरिक तथा बाह्य आर्थिक बृद्धिमा समेत यसले असर पर्ने बताइएको छ ।

Facebook Comments