जनतासामू गरेका प्रतिबद्धता पुरा गर्छु : मन्त्री विश्वकर्मा

माछापुच्छ्रे गाउँपालिका वडा नं ८ लाहाचोकस्थित मर्दिखोला आँपको पुलको शनिबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । युवा, संस्कृति तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पुलको शिलान्यास गर्नुभएको हो ।

२५ मीटर लम्बाई, ११ मीटर चौडाई र १३ मीटर उचाईको मोटरेबल पुल करिब साँढे पाँच करोडमा बन्न लागेको हो । पुल ०७६ को फागुन मसान्तसम्म निर्माण कार्य सक्ने लक्ष छ । पुल बनेपछि सिदिङ, सैंदिघट्टा, कुइबाङ र कोबाङका स्थानीय लाभान्वित हुनेछन् ।

कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले स्थानीय, प्रादेशिक र प्रतिनिधिसभाको निर्वाचनमा जनतासामु गरेका प्रतिबद्धता पूरा गरेर छाड्ने बताउनुभयो । उहाँले आफ्नो गाउँ, आफ्नो ठाउँ र क्षेत्रका विकासका लागि सचेत बन्न स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

विकासका लागि राजनीतिक दाउपेचमा नअल्झिन स्थानीयसमक्ष मन्त्री विश्वकर्माको आग्रह थियो । मन्त्री विश्वकर्माले ल्वाङ्, खोराको मुखमा छिट्टै एन्फा एकडेमीको संरचना बन्ने बताउनुभयो । एक महिनापछि माछापुच्छ«े गाउँपालिका र एकेडेमीबीच सम्झौता हुने उल्लेख गर्नुभयो । एकडेमी निर्माणका लागि सरकारले ५ करोड छुट्याएको पनि मन्त्री विश्वकर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बराल ‘जीवन’ले गाउँ ठाउँको विकासले समृद्धिको एउटा यात्रा पूरा हुने बताउनुभयो । सरकारले लिएको समृद्धिको यात्रामा साथ दिनु सबैको दायित्व दिएको उहाँको भनाई थियो ।

Facebook Comments