६ करोड बढीको लागतमा पोखरामा पर्यटन बसपार्क बन्दै

पोखरामा पर्यटन बसपार्क बन्ने भएको छ । पर्यटन विभागको अगुवाईमा बसपार्क बन्न लागेको र आगामि बुधबारसम्ममा टेन्डर आह्वान हुने पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिनुभयो । व्यवसायीहरुले पर्यटन बसपार्क निर्माणलाई प्राथमिकता दिन बारम्बार आग्रह गर्दै आएका थिए ।

भिजिट नेपाल वर्ष २०२० लाई सफल बनाउनु सरकारको मात्र नभई पर्यटन व्यवसायी र आम नागरिकको भूमिका रहने मन्त्री अधिकारीको भनाई थियो । पोखरा पर्यटन परिषदले आइतबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री अधिकारीले ६ करोड रूपैयाँ भन्दा बढीको लागतमा पोखरामा पर्यटन बसपार्क बन्ने जानकारी दिनुभएको हो ।

पर्यटन व्यवसायीहरुले अन्र्तक्रिया कार्यक्रममा पोखरालाई पर्यटकीय राजधानी भनिएपनि तद् अनुरुपको बजेट विनियोजन हुन नसकेको बताएका थिए । त्यस्तै पदयात्रामा जाने पर्यटकसँग लिइने टिम्स बापत्को शुल्कलाई व्यवस्थित बनाउनुपर्ने, पोखरालाई २४ घण्टा नै खुल्ला राख्ने लगायतका विषय कार्यान्वयन गर्नुपर्ने पर्यटन व्यवसायीको माग रहेको थियो ।

खेल पर्यटन, पोखरामा आयोजना हुने अन्य विभिन्न विशेष महत्वका कार्यक्रमहरुलाई पर्यटनसँग जोड्नुपर्ने व्यवसायीहरुको भनाई थियो । सो अवसरमा पोखरा पर्यटन परिषद्का तर्फबाट पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि मन्त्री अधिकारी समक्ष अनुरोधपत्र पेश गरिएको थियो ।

Facebook Comments