काँग्रेसको महासमिति बैठक सम्पन्न, सरकारले भ्रष्टाचार संस्थागत गरेको आरोप

नेपाली काँग्रेसको महासमिति बैठक सम्पन्न भएको छ । मंसिर २९ गते सुरु भएको महासमिति बैठक आठौं दिन समापन गरिएको हो । पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवादका कारण बैठक लम्बिएको थियो ।

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारीसहितको १६७ सदस्यीय केन्द्रीय कार्यसमिति रहने प्रावधानसहित विधान पारित गरिएको छ । यसैवीच कांग्रेसले सरकारमाथि भ्रष्टाचार संस्थागत गरेको आरोप लगाएको छ । कांग्रेसले महासमिति बैठकबाट सरकारको अधिनायकवादी आकांक्षा पूरा हुन नदिने निर्णय समेत गरेको छ ।

सरकारले विपक्षी दलहरुको भूमिकालाई गौण बनाउन खोजेको, राष्ट्रिय सरोकारका मुद्दा र जन–सरोकारका विषयहरु, संवैधानिक व्यवस्था र कानूनी व्यवस्थाका प्रावधानहरु पालन गर्न उठाइएका विषयहरुलाई उपेक्षा गरेको, भ्रष्टाचारलाई संस्थागत गरेको, राज्यको साधन र स्रोतको व्यापक दुरुपयोग गरिएको काँग्रेसले दावी गरेको छ ।

५० अर्ब माथिको आयोजनालाई विना प्रतिस्पर्धा प्रधानमन्त्री नेतृत्वमा निर्णय गर्ने कानूनी प्रबन्ध गर्न लागिएकामा पनि काँग्रेसले आपत्ति जनाएको छ । बुढीगण्डकी जलविद्युत आयोजना विना प्रतिस्पर्धा विवादास्पद रुपमा चाइना गेजुवा ग्रुपलाई दिन लागिएकोमा पनि काँग्रेसले निर्णय बदर गर्न माग गरेको छ ।

महासमिति बैठकले राज्य संरचनालाई पार्टीकरण गर्ने अभियानमा सरकार लागेको र संवैधानिक निकायहरुलाई पार्टीको छायाँका रुपमा काम गर्न दबाव दिएको, कर्मचारी समायोजनमा उदासीनता देखाएको, संघीयता कार्यान्वयनका लागि कानुन नबनाउको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

कालोबजारी, महंगी, असुरक्षाका कारण लगानीको वातावरण खस्किएको, विदेशी लगानी घटेको तथा स्वदेशी पुँजी पलायन भएको कांग्रेसको ठहर छ । निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई कारबाही गर्न असफल भएको पनि काँग्रेसले निष्कर्ष निकालेको छ ।

६५ वर्षमै बृद्धभत्ता र गम्भीर प्रकृतिका विमारीमा मासिक पाँच हजार भत्ता दिने निर्णय कार्यान्वयन गर्न, द्वन्द्वपीडितले न्याय पाउने सुनिश्चित गर्न र मलेसियाको रोजगारी सूचारु गर्न काँग्रेसले माग गरेको छ भने विवादास्पद एसिया प्यासिफिक समिटमा सरकारको सहभागिताप्रति आपत्ति जनाएको छ ।

पार्टीलाई एक हुन नदिने तत्व परास्त : सभापति देउवा

बैठक समापन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई एक हुन नदिने तत्व परास्त भएको बताउनुभएको छ । महासमिति बैठकले पार्टीलाई एकताबद्ध बनाएको सभापति देउवको भनाई रहेको छ ।

महासमिति बैठकमा सभापति देउवाले भन्नुभयो, ‘कांग्रेसमा विभाजन ल्याउन खोज्ने, पार्टीलाई एकजुट हुन नदिन चाहने तत्व परास्त भएका छन् ।’

त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले धर्मको विषयमा आफूहरुलाई कम्युनिस्टले पढाउन जरुरी नभएको बताउनुभएको छ । महासमिति बैठकको अन्तिम दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले धर्मको विषयमा कम्युनिस्टले कांग्रेसलाई सिकाउन जरुरी नभएको टिप्पणी गर्नुभएको हो ।

धर्मलाई अफिम हो भन्ने कम्युनिस्ट पार्टीका मित्रहरुले धर्म कर्म संस्कार र संस्कृतिको विषयमा कांग्रेस पार्टीलाई पढाइरहन जरुरी छैन प्रवक्ता शर्माको भनाई थियो । शनिबार आयोजित एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस महासमिति बैठकमा हिन्दू धर्मको विषयमा चर्चा हुनु दुखद भएको टिप्पणीको जवाफमा शर्माले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले हालै एसिया प्यासिफिक सम्मेलनको नाममा एउटा धर्मलाई प्रश्रय दिएको प्रवक्ता शर्माको आरोप थियो । उहाँले नेपाली कांग्रेसले आफ्नो विधानलाई नेपाल कम्युनिस्ट पार्टीले पनि पछ्याउन बाध्य हुने जिकीर गर्नुभयो ।

Facebook Comments