नेकपाको स्थायी कमिटिको बैठक बुधबारसम्म स्थगित


नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटिको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताको कारण बैठक पुष ११ गते बुधबारसम्मका लागि स्थगित गरिएको हो ।

पार्टी कार्यालय धुम्बाराहीमा आज विहान बसेको बैठकमा स्थायी कमिटी सदस्यले धारणा राख्ने क्रम सकिएपछि अध्यक्षद्धय ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदनमा उठेको प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको थियो ।

बैठकमा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले क्रिश्चियन धर्म प्रचारक संस्थाले गरेको एसिया प्यासिफिक समिटमा आफ्नो सहभागिताबारे स्थायी समिति बैठकमा स्पष्टिकरण दिनुभएको थियो ।

आइतबार बिहानको स्थायी समिति बैठकमा नेता नेपालले कार्यक्रमको उद्देश्य धर्म प्रचार नरहेको भन्दै आफ्नो सहभागिताको विषयलाई सही भएको जिकीर गर्नुभएको थियो । कार्यक्रम धर्म प्रचारका लागि नभएको र त्यस्तो भए आफूहरुको सहभागिता नरहने नेता नेपालले स्पष्ट पार्नुभएको थियो ।

नेता नारायणकाजी श्रेष्ठले बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको जानकारी दिनुभयो । पार्टी नेताहरुले सरकार र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माओलीको कार्यशैलीको आलोचना गरेका छन् । पार्टी एकीकरण र सरकारका काम कार्वाहीलाई प्रभावकारी बनाउनुपर्ने, पार्टीलाई पद्धतिमा चलाउनुपर्ने लगायतका विषयमा स्थायी समिति बैठकमा उठेको श्रोतले जनाएको छ ।

Facebook Comments