लेखनाथ महोत्सव जारी, ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था


१५ औं संस्करणको लेखनाथ महोत्सव जारी रहेको छ । पोखरा महानगरपालिकाको लेखनाथ तालचोकमा गत विहीबारबाट शुरु भएको महोत्सव आगामि पुष १६ गतेसम्म चल्नेछ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा औद्योगिक एवं व्यवसायिक प्रबद्र्धनको लक्ष्य राखिएको छ ।

औद्योगिक उत्पादन तथा हस्तकलाका उत्पादनको बजार प्रबद्र्धन, स्थानीय उत्पादन, लघु तथा घरेलु तथा साना उद्योगहरुको प्रबर्द्धन आवश्यक ज्ञान, उद्यमशीलता र प्रविघि हस्तान्तरण, दैनिक उपभोग्य बस्तु तथा सेवाको प्रबर्द्धन लगायतका उद्देश्य सहित महोत्सव आयोजना गरिएको आयोजक लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिनुभयो ।

महोत्सवमा ३५० स्टल रहेका छन् । अटोका ९, शैक्षिक २०, कृषि सम्बन्धि २२, किचनका ३२, मेशीनरी २१, हस्तकलाका सामानको ९, गार्मेन्टका ११०, जुत्ताको १०, औद्योगिक उत्पादनका १३, फुड तथा बेभरेजको ३२, डेरी १०, सूचना प्रविधि १९, रेष्टुरेन्ट १६, बैंक तथा वित्तीय संस्थाको २७ स्टल रहेका छन् ।

प्रचार प्रसार समितिका संयोजक गोपीचन्द्र बास्तोलाका अनुसार महोत्सवमा शैक्षिक प्रदर्शनी, खुल्ला कविता प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, गण्डकी तारा गायन प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रम जारी रहेका छन् । महोत्सव अवलकोनका लागि जाने ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा एकल महिलालाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

Facebook Comments