पाल्पाली समाज पोखराले रजत वर्षमा विविध कार्यक्रम गर्ने

पाल्पाली समाज पोखरा स्थापनाको रजत वर्षको अवसरमा समाजले सांस्कृतिक सांझ साथै सम्मान कार्यक्रम गरिने भएको छ । पाल्पामा जन्मेर पोखरालाई कर्मथलो वनाइ विभिन्न पेशा व्यवसाय संचालन गर्दै आएका पाल्पालीहरुको संगठन पाल्पाली समाज पोखराको स्थापनाको २५ वर्ष पुगेको अवसमा आगामी माघ ५ गते पाल्पाली सांस्कृतिक सांझ गर्न लागिएको हो ।

यसका साथै समाजमा विभिन्न क्षेत्रबाट योगदान गर्ने पाल्पाली अग्रजहरुलाई सम्मान गरिने पोखरामा आयोजित एक कार्यक्रमका वीच जानकारी गराईएको हो ।

पाल्पामा रहेका विभिन्न पर्यटकीय गन्तव्यहरुको विकाश र प्रवद्र्धन, पाल्पाको कला संस्कृति, पाल्पाली खानालाई जगेर्ना गर्दै गण्डकी प्रदेशको राजधानी पर्यटकीय नगरी पोखरामा प्रचार प्रसार गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको पाल्पाली समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

पोखरा सभागृहमा गरिने उक्त कार्यक्रममा पाल्पाली ढाका टोपी, पाल्पाली करुवा साथै पाल्पाली चुकाउनी लगायत पाल्पाली कला संस्कृति झल्किने स्टलहरु राखिनुका साथै पाल्पाली टिपिकल खानाका परीकारहरु पनि रहनेछन् ।

कार्यक्रमवाट ११ लाख आम्दानी हुने साथै ८ लाख खर्च हुने अनुमान गरिएको छ । कार्यक्रमवाट वचेको रकम समाजको आकस्मिक कोषमा जम्मा गरिने सांस्कृतिक कार्यक्रम संयोजक अनन्त अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments