पाल्पाली समाज पोखराले रजत बर्ष सांगीतिक कार्यक्रमका साथ मनाउने

पाल्पाली समाज पोखराले पाल्पाको पर्यटन प्रबद्र्धन र मौलिक संस्कृतिको संरक्षणका लागि पाल्पाली सांगीतिक कार्यक्रम २०७५ गर्ने भएको छ । समाज स्थापनाको रजत वर्षको अवसरमा समाजले सांगीतिक कार्यक्रमका साथै अग्रजहरुलाई सम्मान कार्यक्रम गर्न लागिएको हो ।

पाल्पामा जन्मेर पोखरालाई कर्मथलो वनाइ विभिन्न पेशा व्यवसाय संचालन गर्दै आएका पाल्पालीहरुको संगठन पाल्पाली समाज पोखरा २०५१ सालमा स्थापना भएको हो । पाल्पाको मौलिक लोक संस्कृतिको प्रचार प्रसार एवं प्रबद्र्धनका लागि आगामि माघ ५ गते पोखरा सभागृहमा कार्यक्रम गर्न लागिएको पाल्पाली समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्व प्रधानन्यायधीश एंव मन्त्री परिषद् अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रहरी महानिरीषक कुवेरसिंह राना, कलाकारहरु राजेश हमाल, नारायण रायमाझी, दुर्गा रायमाझी, बद्री पंगेनी र इन्द्र जिसी लगायतलाई सम्मान गरिने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

समाजका अध्यक्ष घिमिरेका अनुसार पाल्पामा रहेका विभिन्न पर्यटकीय गन्तव्यहरुको विकास र प्रवद्र्धन, पाल्पाको कला संस्कृति, पाल्पाली खानालाई जगेर्ना गर्दै गण्डकी प्रदेशको राजधानी पर्यटकीय नगरी पोखरामा प्रचार प्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा पाल्पाली ढाका टोपी, पाल्पाली करुवा साथै पाल्पाली चुकाउनी लगायत पाल्पाली कला संस्कृति झल्किने स्टलहरु राखिनुका साथै पाल्पाली टिपिकल खानाका परिकारका स्टल राखिने बताइएको छ ।

यसका साथै पाल्पाका २ नगरपालिका र ८ गाउँपालिकाका प्रमुख लगायतका जनप्रतिनिधिसँगको अन्तक्र्रिया कार्यक्रम समेत राखिएको छ । जस्ले पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धनमा सहयोग पुग्ने आयोजकले विश्वास लिएको पनि घिमिरेले जानकारी दिनुभयो ।

Facebook Comments