नेपाल भित्रिएका ५ विद्युतीय गाडी मापदण्ड नपुगेको भन्दै अस्वीकृत

नेपाल सरकारले काठमाडौं भित्र्याइसकेका पाँचवटा चिनियाँ विद्युतीय मिनी बस अस्वीकार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालकसहित नेपाल भित्र्याएको २० सिट क्षमताका गाडी अस्वीकार गरेको हो ।

प्राविधिक समितिले दिएको प्रतिवेदनअनुसार तोकिएको मापदण्डअनुसार गाडी नआएकाले अस्वीकार गर्ने निर्णय गरिएको हो । उक्त निर्णयको जानकारी गाडी उपलब्ध गराउने कम्पनी बीवाईडी अटो इन्ड्रस्टी कम्पनीलाई मन्त्रालयले दिइसकेको छ ।

मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाका अनुसार विद्युतीय गाडी टेन्डरमा तोकिएको स्पेसीफिकेसनअनुसार सवारी आउनुपर्नेमा नआएकाले अस्वीकार गरिएको बताउनुभयो । मेकानिकल इन्जिनियरले तयार पारेको रिपोर्ट अनुसार मागअनुसारका गाडी नआएकाले अस्वीकृत गर्ने निर्णय भएको हो ।

गाडी दिने कम्पनीलाई साट्न वा फिर्ता लैजान सरकारले भनेको छ । कात्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उच्चस्तरीय टोलीले उदघाटन गरेको यो गाडी मन्त्रालयले अस्वीकार गरेपछि पहिलो सार्वजनिक प्रयोजनको गाडीको भविष्य अन्योलमा परेको छ । ओलीले सन् २०२० सम्म नेपालमा विद्युतीय सवारी २० प्रतिशत पुर्याउने जनाउनुभएको थियो ।

Facebook Comments