कागजात मिलाएको भरमा अनुदान लिने प्रवृत्ति रोक्न माग

बास्तविक किसान राज्यवाट पाउने सेवा सुविधाबाट बञ्चित हुन नहुनेमा पोखरामा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई(तरकारी) सुपरजोन पोखराद्धारा आज यहाँ आयोजित योजना तर्जुमा गोष्ठीमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

बास्तविक कृषकहरु राज्यबाट पाउनु पर्ने सेवा सुविधाबाट बन्चित हुने गरेको बताउँदै कार्यक्रमका बक्ताहरुले कागजात मिलाएको भरमा अनुदान लिने प्रवृत्ति रोकिनु पर्नेमा जोड दिएका हुन् । गण्डकी प्रदेशका भूमिव्यावस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले मुलुकको समृद्धिको आधार कृषिमा आधुनिकीकरण रहेको उल्लेख गर्नुभयो ।

मन्त्री थापाले उत्पादनमा गुणात्मक बृद्धि गर्ने प्रदेश सरकारको नीति रहेको बताउनुभयो । एक वडा एक कृषि उपज संकलन केन्द्र, प्रत्येक पालिकामा हाटबजारको र शितगृह निर्माण गर्ने सरकारले योजना अगाडि सारेको बताउँदै उहाँले पाँच बर्ष भित्र प्रदेशलाई तरकारीमा आत्मनिभर बनाउने लक्ष्यलाई सफल बनाउन सुपरजोनले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समिति कास्कीका संयोजक बैनबहादुर क्षत्रीले कृषिमा आधुनिकीकरण गरि उत्पादनमा बृद्धि गर्नुको साथै बजारिकणमा ध्यान दिनुपर्ने बताउनुभयो । पोखरा महानगरपालिका वडा नं. २५ का अध्यक्ष शोभाखर तिमिल्सिनाले कृषिमा अनुदानलाई व्यवस्थित गर्दै अनुगमनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अध्यक्ष एवम् मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले प्रदेश सरकारले कृषिको विकासका लागि ४० करोड रुपैया विनियोजन गरेको जानकारी गराउँदै त्यसका लागि २ हजार ५०० को आवदेन परेको बताउनुभयो ।

Facebook Comments