संसदको अधिवेशन सुरु, निर्मला पन्त हत्या प्रकरणमा सरकारको कार्यक्षमतामाथि प्रश्न उब्जिएको नेताहरुको टिप्पणी


संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन आजदेखि सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा ४ बजे सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुख कृष्णबहादुर महराले उपस्थित सबै सदस्यलाई स्वागत गर्दै संसदको अधिवेशन आह्वान सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभएको छ ।

सरकारको कार्यक्षमता र हैसियतमा प्रश्न : प्रचण्ड

बैठकमा सम्बोधन गर्दै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्मला हत्याकाण्डले सरकारको कार्यक्षमता र हैसियतमा प्रश्न उठाएको टिप्पणी गर्नुभएको छ । बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस विषयलाई आफ्नो पार्टीले गम्भीर रुपमा लिएको बताउनुभयो । यो घटनालाई चुनौतीका रुपमा लिएर अनुसन्धानमा गम्भीर हुन सरकारलाई प्रचण्डले आग्रह गर्नुभयो ।

निर्दोषहरुलाई फसाउन खोजियो : देउवा

काँग्रेस सभापति शेरबहादुर देउवाले कञ्चनपुरका बालिका निर्मला हत्याकाण्डमा संलग्न भन्दै निर्दोषहरुलाई फसाउन खोजेर देशको शान्ती सुरक्षा खल्बल्याउन खोजिएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले वर्तमान सरकारले जनता, महिला, बालबालिकालाई शान्ती सुरक्षा दिन नसकेकोमा आक्रोस व्यक्त गर्दै अहिले देशमा सरकार भएको आभास गर्न नसकिएको आरोप लगाउनुभयो ।

देश संघियतामा गएपनि कार्यान्वयनको लागि नियम कानुनहरु सरकारले बनाउन नसकेको भन्दै सरकार नै यसको विरुद्धमा लाग्न् लागेको आशंका व्यक्त गर्नुभयो । संविधान संसोधन मार्फत सबैको भावना पूरा गराउन उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

बिकास र समृद्धीको यात्रा हल्ला मात्रै : भट्टराई

डा.बाबुराम भट्टराईले सरकारले बाहिर, बाहिर भनेजस्तो बिकास र समृद्धीको यात्रा सुरु नभएको बताउनुभयो । उहाँले निर्मला पन्तको हत्या प्रकरणमा छानविन गर्न नसकेको, बुढी गण्डकी आयोजना विना प्रतिस्पर्धा अगाडि बढाएको, वाइडबडी जहाज खरीदमा पारदर्शिता नभएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

विश्व सामु सरकारको विश्वसनियता त्यति धेरै नभएको भन्दै सरकार खुल्ला र स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले देशमा विभेदको सीमा नाघेको आरोप लगाउँदै आफ्ना मागहरु सरकारले पूरा नगरेको बताउनुभयो । कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई संसदमा बस्ने वातावरण किन नबनाएको भनद्यै उहाँले प्रश्न गर्नुभएको छ ।

Facebook Comments