नेकपा स्थायी समिति बैठक बस्दै, राजनीतिक प्रतिवेदन परिमार्जन गरिने


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको संयुक्त राजनीतिक प्रतिवेदन परिमार्जन सहित पास गर्नका लागि आज पनि स्थायी समिति बैठक बस्दैछ । विहीबारको बैठकमा प्रतिवेदनलाई परिमार्जन गरेपछि मात्र पारित गर्ने स्थायी समितिका सदस्यहरुको माग गरेपछि आज पुनः बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले स्थायी समितिका सदस्यहरुले उठाएका विषयमा आफ्नो जवाफ दिएपछि यसलाई पारित गर्न आह्वान गर्नुभएपनि त्यसलाई परिमार्जन नगरी पारित नहुने अवाज उठेपछि आज शुक्रबार पुनः बस्ने गरी बैठक स्थगित भएको थियो ।

अध्यक्ष ओलीले अहिले पार्टी एकता ऐतिहासिक भएको र त्यसलाई सुदृढ गर्दै एकताबद्ध ढंगबाट अगाडि बढाउन सबैमा आह्वान गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले पार्टी र सरकारले अहिले आफ्नो सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय हित र स्वाभिमानलाई कुनै पनि हालतमा नछोड्ने कुरा अध्यक्ष ओलीले बैठकमा राखेको बताउनुभयो ।

लोकतन्त्रलाई दृद्धतापूर्वक अगाडि बढाउने, समाजिक न्याय, समानता, सुशासन र विकासलाई दृढतापूर्वक अगाडि बढाउने, समग्रमा राष्ट्रलाई समृद्ध नेपाल र सुखी नेपालीको अवधारणा अन्तर्गत सफतापूर्वक अगाडि बढाउने कुरामा अध्यक्ष ओलीले विशेष जोड दिएको बताइएको छ ।

सांगठनिक एकीकरणका बाँकी सबै कामहरु पुस मसान्त सम्ममा सकिने गरी योजना बनाउन र त्यसको निम्ति आवश्यक गृहकार्य गर्ने प्रकृयाको प्रस्ताव गर्दै अध्यक्ष ओलीले यो बैठक सकिँदा सिंगो पार्टी एकताबद्ध हुने, कार्यकर्ता उत्साहित हुने, जनतामा आशा र विश्वास पैदा गर्ने विश्वास व्यक्त गर्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

Facebook Comments