शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई नेता नमान्ने सिटौलाको घोषणा

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई आफुले नेता नमान्ने घोषणा गर्नुभएको छ । उहाले विगतमा पनि नेता नमानेको र अहिले पनि नमान्ने बताउदै पदलाई मात्र मानेको स्पष्ट पार्नुभएको छ ।

महासमिति बैठकपछि केही सञ्चारकर्मीलाई बोलाएर राजधानीमा आज विहान आफ्ना धारणा राख्नु भएका नेता सिटौलाले यसअघिको महाधिवेशनमा देउवालाई समर्थन गर्नुभएको थियो । उहाले कांग्रेसभित्र नेतृत्व गर्ने नेता कोही नदेखेर आफै उठेपनि अनिर्णयले अप्ठेरो पार्ने भएपछि अन्तिममा देउवालाई साथ दिएको बताउनुभयो ।

‘शेरबहादुर र रामचन्द्रलाई पहिले पनि नेता मानेकों थिइन, अहिले पनि मानेको छैन, पदलाई मानेको छु’, सिटौलाको भनाई थियो । नेता सिटौलाले महाधिवेशनको मिति तय भएपछि उमेदवारीको टुंगो लाग्ने भन्दै ‘कर्मशील मौरी मात्र हैन कार्यकर्ताको शुभेच्छा रहे रानी मौरी पनि बन्न सकिन्छ ’ भन्नुभयो ।

उहाले पार्टी बलियो भए सभापति पनि बलियो हुने तर सभापति बलियो हुँदैमा पार्टी बलियो नहुने स्पष्ट समेत पार्नुभयो । पार्टीमा व्यक्ति हावी हुन नहुने र पार्टीलाई बलियो बनाउनु पर्ने बताउदै दबेको कार्यकर्ताले कांग्रेसको चरित्र जोगाउन नसक्ने बताउनुभयो । साथै सिटौलाले कांग्रेसमा उठेको हिन्दूराज्यको आवाज असान्दर्भिक भएको टिप्पणी समेत गर्नुभयो । महासमिति बैठक सकिएको केही दिनभित्रै सिटौलाले नेतृत्वविरुद्ध चरम असन्तुष्टि पोख्नुभयो ।

Facebook Comments