पोखरा १३ मा ट्राफिक लाइट सञ्चालनमा

पोखरा महानगरपालिकाको वडा नं. १३ मा ट्राफिक लाइट सञ्चालनमा आएको छ । पोखरा १३मा रहेको भद्रकाली माध्यमिक विद्यालय तथा क्याम्पश भएको ठाउँमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो । पोखरा महानगरपालिकाका मेयर मानवबहादुर जिसीले मंगलबार आयोजित एक कार्यक्रमकावीच ट्राफिक लाइटको शुभारम्भ गर्नुभयो ।

उक्त विद्यालयमा विद्यार्थी संख्या अधिक रहेकाले सुरक्षित रुपमा विद्यालय आउजाउ गर्न सहयोग होस् भन्ने उद्देश्य सहित ट्राफिक लाइट जडान गरिएको वडा नं. १३ का अध्यक्ष दर्शन लामाले जानकारी दिनुभयो । भद्रकाली विद्यालयमा माध्यामिक तहमा २७ सय र क्याम्पसतर्फ गरी ३२ सय विद्यार्थी अध्ययनरत छन् ।

वडा कार्यालयले १ लाख ६३ हजार रुपैयाँ लागतमा ट्राफिक लाइट जडान गरेको हो । जसमा स्थानीयको समेत सहयोग रहेको छ । पैदल यात्रुले ट्राफिक लाइट प्रयोग गर्दा सडक पार गर्नुपुर्व स्वीच थिचेमा रातो बत्ती बल्ने र बाटो पार भएपछि आफैं बन्द हुने प्रविधि मिलाइएको छ ।

मेयर जिसीले चालु आर्थिक वर्षभित्रै पोखराका मुख्य मुख्य १० ठाउँमा ट्राफिक लाइट जडान गर्ने जानकारी दिनुभयो । पोखरामा पछिल्लो समय सवारी चाप बढ्दै गएको छ जसले गर्दा ट्राफिक ब्यवस्थापन जटिल बनिरहेको छ ।

Facebook Comments