सार्वजनिक विद्यालय रुपान्तरण अभियान सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु

सार्वजनिक विद्यालय रुपान्तरण अभियान सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भक्तपुरको बोडेमा शुरु भएको सम्मेलन बुधबार र विहीबार २ दिनसम्म चल्नेछ । नमुना सामुदायिक विद्यालयको अभ्यास एवं अनुभवलाई विस्तार गर्ने र त्यसै आधारमा सुधारका न्यूनतम खाका निर्माण गर्ने उद्देश्य सहित सम्मेलन आयोजना गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा विभिन्न जिल्लामा रहेका विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि सहभागी छन् । सम्मेलनको उद्घाटन गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले शिक्षामा दलीय राजनीतिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

मुलुकको समृद्धि राजनीतिबाटै सम्भव हुने भएपनि अहिलेको सन्दर्भमा शिक्षाको गुणस्तर सुधारका लागि दलीय राजनीति आवश्यक नभएको उहाँको तर्क थियो । नमुना सार्वजनिक विद्यालयले कसरी अभिभावक तथा विद्यार्थीको विश्वास जित्न सफल भएका छन् भन्ने विषयमा सम्मेलनमा छलफ हुने बताईएको छ ।

सम्मेलनमा, सहभागी विद्यालयले गरेका असल अभ्यास र त्यसले भएको सुधारका बारेमा छलफल हुने र त्यसबाट अन्य विद्यालयलाइ सिकाइ हुने बताइएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षाको गुणस्तर सुधार, व्यवहारिक शिक्षा प्रणालीको विकासबारे सम्मेलनले ठोस धारणा तय गर्नुपर्ने बताएका थिए ।

शिक्षा सचिव खगराज बराल तथा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले सम्मेलनको आवश्यकता र उद्देश्यबारे प्रष्ट पार्नुभएको थियो । सम्मेलनको पहिलो दिन भएको प्रस्तुतीको आधारमा दोस्रो दिन हुने समूह छलफल बोडे घोषणापत्र जारी गरिने आयोजकले जनाएको छ ।

Facebook Comments