गोर्खा भुपुहरुको नागरिकतामा देखिएको समस्यालाई समाधान गर्छौ : रक्षामन्त्री पोख्रेल

उप प्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले भारतीय सेनाबाट अवकाशप्राप्त भुतपूर्व सैनिकहरुलाई परेको नागरिकता सम्बन्धि समस्यालाई सम्बन्धित पक्षसँग वार्ता गर्ने बताउनुभएको छ । संयुक्त भुतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले पोखरामा आयोजना गरेको पांचौ वीर गोरखा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री पोख्रेलले यस्तो बताउनुभएको हो ।

गोर्खा सैनिकको १ सय ४ वर्षे इतिहांस रहेको र नागरिकताको ब्यवस्था नभएको वेलामा गोर्खा सैनिकमा भर्ती भइ अवकाश प्राप्त भइसकेपछि नागरिकता र नामका फरक पर्दा परेको समस्याबारे सरकारले भारत सरकारसँग वार्ता गर्ने मन्त्री पोखरेलेको भनाई छ ।

समस्या समाधानका लागि नेपाल सरकारले ब्यवस्था मिलाई छिमेकी मुलुक भारतसंग वार्ता गरी समस्याको समाधानमा पहल गर्ने उहाँको भनाई थियो । रक्षामन्त्री पोख्रेलले नेपालमा नागरिताको ब्यवस्था नहुदै गोर्खा भर्तीमा जागिर खाने परम्परा रहेका कारण भुतपूर्व सैनिकहरुले अवकाश प्राप्त गरिसकेपछि झेल्नुपरेका समस्याबारे नेपाल सरकार जानकार रहेको उल्लेख गर्नुभयो । मन्त्री पोख्रेलले भुतपूर्व सैनिकहरुले आफूले हाँसिल गरेका ज्ञान, सीप, दक्षता र प्रविधिलाई देशको हितमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा वोल्दै संयुक्त भुतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालका सह अध्यक्ष डाक्टर लक्ष्मीकान्त पाण्डेले नेपाल सरकारले अझैसम्म पनि वेलायत र भारतिय सेनामा रहेका सैनिकहरुको प्रस्ट आंकडा राख्न नसकेको, नागरिकतामा समस्या परेका कारण हजारौ भुपू सैनिकका परिवारले दुख झेल्नुपरेको बताउनुभयो ।

त्यस्तै गण्डकी प्रदेशका सभासद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले भुपू सैनिकहरुको समस्या सामाधानका लागी राज्यले गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।संयुक्त भुतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालका अध्यक्ष कर्णेल धन बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय समाजवादीका गिरी प्रसाद गुरुङ, भीम बहादुर राना लगायतले बोल्नुभएको थियो । पोखराको चिप्लेढुंगा, लखनचोक र चाउथे चोकबाट झाकी तथा र्याली शुरु भइ पोखराको अमरसिंह चौरमा सभामा परिणत भएको थियो ।

Facebook Comments