गोरखामा वडाध्यक्षले पाउने तलव सुविधाबाट विद्यार्थीलाई सहयोग

गोरखामा सहिद लखन गाउँपालिकाका एक वडाध्यक्षले विद्यार्थीहरुलाई कापी, कलम र ड्रेस सहयोग गरेका छन् । जनप्रतिनिधिले बढी सेवा सुविधा खोजेको भनेर आलोचना भइरहेका बेला उक्त गाउँपालिका वडा नं. ७ का अध्यक्ष शरण श्रेष्ठले आफूले जनप्रतिनिधिका रुपमा राज्यबाट पाउने सेवा सुविधाको रकमबाट विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।

सरकारी विद्यालयमा विद्यार्थीहरुलाई पढ्ने वातावरण बनाउनका लागि आफूले गुणस्तरीय शिक्षा एवं सेवा सुविधा दिन पहल गरेको अध्यक्ष श्रेष्ठको भनाई छ । श्रेष्ठले २ लाख ८८ हजार रुपैयाँ बराबरको स्टेशनरी र ड्रेस किनेर विद्यार्थीलाई उपलब्ध गराउनुभएको हो ।

सरकारले दिने निशुल्क बाहेकका सबै पुस्तक उपलब्ध गराइएको जानकारी दिदैं अध्यक्ष श्रेष्ठले शहीद लखन ७ को शहीद स्मृति माविमा ७० थान, लखन थापा आधारभूत विद्यालयमा ५३ थान, चण्डिका आधारभूत विद्यालयमा ६७ थान पुस्तक वितरण गरिएको बताउनुभयो । त्यस्तै खाब्दी र मकैपुर प्राविका विद्यार्थीहरुलाई पनि आवश्यक पाठ्यपुस्तक वितरण गरिएको छ ।

यसबाहेक उहाँले मिर्गौला रोगबाट पीडित नरबहादुर अधिकारी र दलबहादुर आलेलाई जनही ५ हजारका दरले आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । वडामा सबै विद्यालयमा यस आर्थिक बर्षबाट अंग्रेजी माध्यमको पढाई सुरु भएको छ ।

श्रेष्ठले विज्ञप्ति मार्फत सहयाेग बारे जानकारी गराउनुभएकाे छ ।

प्रेस विज्ञप्ती

गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ को अध्यक्षमा निर्वाचित भएपछि जनप्रतिनिधिका हैसियतले मैले सरकारबाट पाउने तलब भत्ता वापतको सेवा सुविधा सामाजिक काममा खर्च गर्ने अभियानाई निरन्तरता दिईरहेको छु । मासिक रुपमा मैले पाउने पारीश्रमिक अठार हजार (१८०००) रुपैयाँको हाल सम्म (२१ महिना) सम्म तीन लाख ७८ हजार रुपैयाँ र बैठक, अनुगमन, कार्यक्रममा सहभागी हुँदा पाएको भत्ता असि हजार (८०,०००) रुपैयाँ बिभिन्न सामाजिक कामका लागि खर्च गरेको छु ।

जस अन्र्तगत, यस वडा कार्यालय भित्र रहेका पाँच वटा विद्यालयलाई २०७६ को शैक्षिक सत्रका लागि (बाल कक्षा देखि ५) सम्म अंग्रेजी माध्यामको सबै पाठ्यपुस्तक निशुल्क उपलब्ध गराएको छु । शहिद लखन गाउँपालिका वडा नम्बर ७ मा रहेको शहिद स्मृती माविमा – ७० सेट, चण्डिका आधारभुत विद्यालयमा – ६७ सेट, लखनथापा आधारभुत विद्यालयमा –५३ सेट, खाब्दी प्रावि र मकैपुर प्रावि विद्यालयलाई समेत निशुल्क अंग्रेजि पाठ्यपुस्तक बितरण गरेको छु । 


सोमवार र मंगलवार विद्यालयलाई उक्त पाठ्यपुस्तक बितरण गरिएको हो । सामुदायिक विद्यालयहरुमा सुरु भएको अंग्रेजी भाषा शिक्षणमा मद्धत गर्दै विद्यार्थीहरुको क्षमता अभिवृद्ध र प्रोत्साहनका लागि यो अभियानमा सहयोग गरेको हुँ ।

यहाँका सबै सामुदायिक विद्यालयका १–५ सम्म यस शैक्षिक सत्रदेखि वडा कार्यालयको पहल, विद्यालयको तदारुकता, शिक्षक शिक्षिकाको उत्साह, ब्यवस्थापन समितिको सहयोगमा र गाउँपालिकाको समन्वयमा अंग्रेजी माध्यामबाट पठनपाठन गराउने निर्णय गरे अनुसार सो कामको थालनी गरेको हुँ । नेपाली पाठ्यपुस्तक निशुल्क पाउने भएपनि अंग्रेजी पाठ्यापुस्तक खरिद गर्दा लाग्ने शुल्क विद्यार्थी र अविभाबकलाई भार नपार्ने उद्देश्यले आफ्नो सुविधाबाट मैले पुस्तक खरिद गरी सहयोग गरेको हुँ । यस बाहेक निम्न सामाजिक कार्यमा समेत मैले सहयोग गर्दै गरेको छु ।

 शहिद लखन लखन गाउँपालिका वडा न..७ को भिमसेन मन्दिर निर्माणका लागि – ५०,००० ।
 शहिद लखन गाउँपालिका वडा नं. ८ को भिमेश्वर महादेव मन्दिर निर्माणका लागि – ५,००० ।
 शहिद लखन गाउँपालिका वडा नं. ८ को कोटकाली मन्दिर निर्माणका लागि – ५००० । 
 शहिद लखन गाउँपालिका वडा नं. ८ का (मृगौला पीडित) स्व. नरबहादुर अधिकारीलाई सहयोग – ५,००० । 
 शहिद लखन गाउँपालिका वडा नं. ७ का दलबहादुर आलेलाई उपचारार्थ सहयोग – ५,००० ।
 बाराका हावाहुरी पिडितका लागि (गोरखा जेसिज मार्फत) सहयोग – १५,००० ।

नोट : आउँदो दिनहरुमा समेत सेवा सुविधा र भत्ता बापत लिएको रकम गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ का धनबहादुर श्रेष्ठ (अपाङ्ग छोराछोरीको परिवार) लाई घर निर्माणमा पहिले प्राथमिकतामा राखेर नगद ७५,००० र शहिद लखन गाउँपालिका वडा नं. ७ को खाब्दीगाउँको मन्दिर निमार्णका लागि ५,००० सहयोग गर्नेछु । यो बाहेक शिक्षा, स्वास्थ्य लगायत समाजिक क्षेत्रका साथै बिपत्तीमा परेकाहरुलाई सेवा गर्दै जाने र खर्च गरेको बिवरण प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउनेछु । मलाई जनप्रतिनिधिको रुपमा यस वडा कार्यालयमा काम गर्न सहयोग गर्ने, हौसला प्रदान गर्ने, समन्वय गर्ने सबैप्रति हार्दिक आभार ब्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछु ।

शरण श्रेष्ठ
वडा अध्यक्ष
शहिद लखन गाउँपालिका ७, बुङ्कोट
गोरखा
९८५६०४०३६८
२०७६/०१/१०

Facebook Comments