बेगनास–भोर्लेटार सडक कालोपत्रे हुने

बेगनास–भोर्लेटार सडक स्तरोन्नति गरिने भएको छ । ट्रयाक खुलेको बर्षौंपछि सडकको स्तरोन्नती गर्न लागिएको हो । बेगनासतालबाट तालबेंशीसम्मको सडक यसअघि नै ओटासिल गरिएको छ । प्रदेश सरकारले तालबेंशीदेखि लमजुङको सीमानासम्मको सडक कालोपत्रे गर्न २६ करोड रुपैयाँ विनियोजन गरेको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले सडक बनाएर, बिजुलीका काठको पोल फेरेर, धारामा पानी ल्याएर, स्कुल बनाएर हामी समृद्ध गण्डकी प्रदेश बनाउने बताउनुभयो । उहाँले समाज रुपान्तरण र समृद्ध प्रदेश बनाउन दृढ रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ तथा स्थानीय सरकारसँग प्रदेश सरकारले विकासका लागि हातेमालो गर्ने बताउनुभयो । संघ सरकारबाट बजेट र सडक हस्तान्तरण भएपछि सडकको काम अगाडि बढाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

सरर गाडी आउने बाटो हामी बनाएपछि कृषिजन्य उत्पादन पोखरा पठाउनुपर्ने मुख्यमन्त्री गुरुङको भनाई थियो । आगामी २७ महिनाभित्रमा सडक कालोपत्रे सक्ने गरी महालक्ष्मी कञ्चनजंघा जेभीले निर्माणको जिम्मा लिएको छ ।

करिब १२ किलोमटिर सडक कालोपत्रे गर्ने कामको जिम्मा पाएको छ । गएको चैत १८ गते ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेर प्रारम्भीक काम समेत सुरु भैसकेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले जानकारी दिनुभयो । ७ मिटर चौडा पीच र ड्रेनसहित १० मिटर फराकिलो सडक बनाउनुपर्ने बताइएको छ ।

त्यसक्षेत्रका सांसद एवं प्रदेशको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले निरन्तर अनुगमन गरेर बाटोलाई प्रदेशकै नमुना बनाउने बताउनुभयो । चुनावमा गरिएको प्रतिबद्धता मध्ये एउटा प्रतिबद्धता पुरा हुने क्रममा रहेको उहाँको भनाई थियो ।

प्रतिनिधिसभा सांसद खगराज अधिकारी पनि विकासको लहर गाउँमा छिरेको भन्दै गाउँ नछोड्न गाउँलेलाई आग्रह गर्नुभयो । पहिले सुविधाका लागि सहरतिर जाने चलनले गाउँ खाली जस्तो भएको छ अहिले गाउँतिर विकास निर्माण भएको छ यसर्थ गाउँ छाडेर जानुपर्दैन सांसद अधिकारीको भनाई थियो ।

Facebook Comments