कस्तो अचम्म गुफामै कार्यपालिका बैठक !

तनहुँ बन्दीपुर गाउँपालिकाको बैठक गुफाभित्र बसेको छ । त्यसो त गाउँ कार्यपालिका बैठक कार्यालय वा बस्ने ठाउँको अभावले गुफामा बसेको भने होइन । बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गुफामा बैठक गरिएको हो ।

पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसारका लागि गाउँपालिकाले प्रत्येक वडामा पुगेर कार्यपालिकाको बैठक गर्ने नीतिबमोजिम सिद्धगुफाभित्र बैठक सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित कार्यपालिकाको बैठक नै गुफाभित्र गरिएको उहाँको भनाई छ ।

पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा सिद्ध गुफा रहेको छ । विसं २०४४ चैत १३ गते शनिबार अर्थात् सन् १९८८ मार्च २६ मा स्थानीय चन्द्रबहादुर सम्लिङ थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँच जनाको समूहले सो गुफा पत्ता लगाएको थियो ।

गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचीन वस्तु अक्षर मेटिएको तामाको पैसा, माटोबाट बनेको टुक्रीको पानीको घैटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दारा, र टेराकोटाको शुल्पा र सानो थाल जस्तो आदि १६ र १७ औँ शताब्दी अघिको अनुमान गरिएको छ ।

सिद्धगुफा विकास समितिका अनुसार गुफा अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढ्दो रहेको छ ।

Facebook Comments