रिटर्नी माइग्रेन्ट नेपालको राष्ट्रिय सम्मेलन पोखरामा हुने

रिटर्नी माइग्रेन्ट नेपालको राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । वैदेशिक रोजगारीबाट फर्केका मुलुकभरका रिटर्नीहरु पोखरामा हुने प्रथम राष्ट्रिय सम्मेलनमा सहभागी हुँदैछन् । रिटर्नी माइग्रेन्ट नेपालको प्रथम राष्ट्रिय सम्मेलन यहि बैशाख १५ र १६ गते पोखरा सभागृहमा हुँदैछ ।

विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा रिटर्नीहरुलाई आफ्नै देशमा स्वरोजगार बनाई र मुलुकको आर्थिक विकासमा समेत सहयोग पुर्याउने उद्देश्य सहित रिटर्नी माइग्रेन्ट नेपाल क्रियाशील रहेको संस्थाका महासचिव लक्ष्मीप्रसाद आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार संस्थामा हालसम्म ३० हजार रिटर्नी आबद्ध भएका छन् । आचार्यले संस्थाको प्रदेश नम्बर १, प्रदेश नम्बर २, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र प्रदेश नम्बर ७ मा प्रदेश शाखा तथा २१ जिल्लामा शाखा बिस्तार भइसकेको जानकारी दिनुभयो ।

७७ जिल्लाका २५० जना प्रतिनिधि सहभागि हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ । सम्मेलनको उद्घाटनसत्रमा भने ६ सय बढी सहभागी हुने आचार्यको भनाई छ ।

पोखरामा हुने सम्मेलनबाट रिटर्नीहरुले सरकारको नीति तथा कार्यक्रममा रिटर्नीहरुको एजेण्डा समावेश गर्न, वैदेशिक रोजगारीबाट फर्केकालाई दिने भनिएको कर्जा प्रक्रिया झञ्झटिलो भएकाले त्यसलाई सहज बनाउन र रिटर्नीको लगानीमा सरकारी साझेदारी हुनुपर्ने मागलाई समेत अगाडि सार्ने महासचिव आचार्यले उल्लेख गर्नुभयो ।

Facebook Comments