नागरिकता विधेयकले मुलुकको स्वाधीनता र सार्वभौमिकतामा बाधा पुग्ने दावी

संसदमा विचाराधीन नागरिकता विधेयकले मुलुक टुक्राउने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । पोखरामा आयोजित कार्यक्रमका वक्ताहरुले नागरिकताको सवालमा पहिले नै उदार मानिएको ऐनलाई थप उदारताको नाममा उक्त विधेयकले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि धावा बोल्ने बक्ताहरुले जिकिर गरेका हुन् ।

सचेतना समाज नेपाल र राष्ट्रिय सम्पदा तथा मानवअधिकार संस्थाले शुक्रबार पोखरामा संयुक्त आयोजना गरेको ‘राष्ट्रियता र नागरिकता वितरण’ विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले भने, ‘नागरिकता वितरणको खुकुलो नीतिले देशको सार्वभौमसत्ता नै खतरामा पर्छ । नागरिकता वितरणका लागि अधिकार सम्पन्न न्यायिक छानविन आयोग गठन गरिनुपर्छ ।’

कार्यक्रमका प्रमुख अतिथि तिलक पराजुलीले प्रत्येक नेपालीले नागरिकता पाउनुपर्नेमा जोड दिनुभयो । तराईमा बस्ने अधिकांश नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने तर भारतीय घुसपैठलाई रोक्नुपर्ने उहाँको भनाई छ । भारतीयहरुलाई नागरिकता दिलाएर नेपालीलाई नै अल्पमतमा पार्ने भारतीय नीतिलाई असफल बनाउनुपर्ने उहाँके भनाई थियो ।

सचेतना समाज नेपालका अध्यक्ष सुरेन्द्र थापामगरले ०३६ को जनमत संग्रह ताका चुनावी स्वार्थले नागरिकता वितरण गरिएको उल्लेख गर्नुभयो । ०४७ यता, नागरिकता सम्बन्धी वितरणको मुद्दा पेचिलो बन्दै आएको थापामगरको भनाई थियो ।

राष्ट्रिय जनमोर्चाका शंकर बरालले नागरिकता वितरणविरुद्ध जनमोर्चा आन्दोलनमा रहेको उल्लेख गर्नुभयो । बुद्धिजीवी रामराज रेग्मीले जन्मसिद्ध आधारमा नागरिकता पाउनुपर्नेमा जोड दिनुभयो । अधिकारकर्मी सुन्दर गुरुङले नागरिकताको विषयमा जिम्मेवार निकाय गंभीर बन्नुपर्नेमा जोड दिनुभयो ।

प्राध्यापक पद्मशरण रेग्मीले दुई ठूला महाशक्ति छिमेकी राष्ट्रहरुले नेपालको भूराजनीतिक खेल खेल्न चाहेको बताउनुभयो । सचेतना समाजका अध्यक्ष सुरेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष तिलक पराजुलीले स्वागत र कार्यक्रममाथि प्रकाश र राष्ट्रिय सम्पदा तथा मानवअधिकारका महासचिव सुनिल पाण्डेले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Facebook Comments