घाचोक माछापुच्छ्रे महोत्सवको तयारी पुरा

माछापुच्छ्रे गाउँपालिका–३, घाचोक स्थित परिवर्तनका लागि युवा संजाल(युनेक) नेपालको आयोजनामा यही बैशाख १५ गते आइतवारदेखि तेस्रो घाचोक माछापुच्छ्रे महाेत्सव हुने भएको छ । बैशाख २१ गतेसम्म चल्ने महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

माछापुच्छ्रे गाउँपालिकामा उत्पादित कृषि तथा हस्तकलाका सामग्रीहरुको प्रदर्शनी तथा प्रचारप्रसार गर्ने, मौलिक कला संस्कृतिको संरक्षण र प्रवद्र्घन गर्ने, नवप्रतिभाहरुलाई उपयुक्त अवसर दिने, पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने, सामुदायिक सद्भाव, एकता र सहकार्य अभिबृद्धि गर्ने उद्देश्ले महोत्सव गर्न लागिएको हो ।

आयोजक युनेक नेपालले शुक्रवार पोखरामा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पुरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा मूल आयोजक समितिका सदस्य सचिव रेशम नेपालीले महोत्सवका आकर्षणहरुमा अन्तर क्लव स्तरीय पुरुष भलिवल प्रतियोगिता, यूनेक डान्सिङ आइडल(सिजन २) को ग्राण्ड फिनाले, मौलिक झाँकी प्रदर्शनी तथा योग प्रतियोगिता लगायत रहेको जानकारी दिनुभयो ।

महोत्सवमा रत्यौली गीत प्रतियोगिता, दुध र बदामबाट बनेका परिकारहरु, होमस्टेमा बस्ने व्यवस्था एवम् हास्य कलाकारका प्रस्तुतिहरु तथा यूनेक नेपाल सामाजिक सेवा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

युनेक नेपालका अध्यक्ष अध्यक्ष मौसम कार्कीले पहिला उत्सवको रुपमा मनाउँदै आएको मेलालाई यसपटक महोत्सवको आकार दिएको भताउनुभयो । महोत्सवमा कुल ६५ वटा स्टल रहने जसमध्ये १५ वटा कृषि प्रायोजनका लागि निःशुल्क उपलब्ध गराउने आयोजकले जनाएको छ ।

अध्यक्ष कार्कीले महोत्सवका कारण गण्डकी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । जसका लागि २० घरमा होमस्टे निर्माण गरिएको र महोत्सवकै अवसरमा होमस्टे उद्घाटन गरिनेछ । महोत्सव संचालन गर्न कुल रु.२३ लाख १५ हजार खर्च लाग्ने अनुमान पनि गरिएको छ ।महोत्सव प्रवेशका लागि प्रतिव्यक्ति रु. ५० को टिकटको व्यवस्था पनि गरिएको छ ।

Facebook Comments