खुलामञ्चमा अनुमतिबिना बनेका संरचना भत्काउन डोजर !

चौतर्फी विरोध र दबाबपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अनुमतिबिना बनेका संरचना भत्काउन डोजर लगाएको छ । शनिबार डोजर लगाएर खुल्ला मञ्चमा व्यापारिक प्रयोजनका लागि बनाइएका सटरहरु भत्काइएको हो ।

खुलामञ्च अतिक्रमणविरूद्ध सामाजिक सञ्जालका साथै खुल्ला मञ्चमा नै विभिन्न संघ संस्थाले विरोध कार्यक्रम गरी दबाब दिएका थिए ।

प्रधानमन्त्री कार्यालयको आदेशमा डोजर चलाइएको बताइएकाे छ । डोजर चल्दा चर्को रकम तिरेर सटर भाडामा लिएका व्यवसायीहरुले अवरोधको प्रयास गरेका थिए ।

ठेकेदार मनोजकुमार भेटवालको जलेश्वर स्वच्छन्द विकोई विल्डर्सले खुलामञ्चमा  अवैध सटर बनाएर व्यापार थालेको थियो । खुल्लामञ्चमा सटर बनाएर अग्रिम रकम भुक्तानी लिएर जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स नामक ठेकेदार कम्पनीले बिक्री गरेको हो ।

मनोजकुमार भेटवाल सञ्चालक रहेको स्वच्छन्द बिल्डर्सले खुल्ला मञ्चको सार्वजनिक जग्गामा ४० वटा सटर निर्माण गरेर भाडामा लगाएको हो । व्यापारीले अवैध ती सटर तीनदेखि १० लाख रुपैयाँ माथिसम्ममा खरिद गरेका थिए भने सटरको भाडा प्रतिमहिना ८ देखि १२ हजारसम्म तोकिएको थियो । 

Facebook Comments