५ बुँदे पाेखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन सम्पन्न

५ बुँदे घोषणापत्र जारी गर्दै गण्डकी प्रदेशस्तरीय दुई दिने मिडिया सम्मेलन सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिको आयोजनामा पोखरामा आयोजित सम्मेलन समसामयिक घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको प्रहारप्रति सरकारको ध्यानाकर्षण गराइनुका साथै समाचार लेखेकै आधारमा पत्रकारमाथि भइरहेको धरपकड र गिरफ्तारीको निन्दा गरिएको छ । नागरिक अधिकारको संरक्षण गर्न मिडियामैत्री कानून निर्माण, समानुपातिक विज्ञापन नीति लागू गर्न तथा श्रमजीवि पत्रकार ऐन लागू गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

यसअघि मिडिया सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान ‘अजित’ले प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रेससँग सरोकार राख्ने कानूनहरू निर्माण गर्दा पत्रकार महासंघसँग आवश्यक छलफल गरेर मात्रै अघि बढ्ने उहाँको भनाई थियो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेसविरोधी कानून निर्माणमा सरकार लागेको हो कि भन्ने आशंका बढेको बताउनुभयो । विद्युतीय कारोबार ऐनप्रति लक्षित गर्दै महासचिव विष्टले प्रेससँग साइनो नै नभएको कानून लगाएर पत्रकारलाई हत्कडी लगाउनु लोकतन्त्र र संविधानविपरीत भएको बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको सभाहलमा शनिबारसम्म चल्ने मिडिया सम्मेलनको पहिलो दिन समृद्धि र पत्रकारिता तथा समावेशिता र पत्रकारिताबारे छलफल भयो । छलफलको पहिलो सत्रमा पत्रकार वासुदेव मिश्रले गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीसँग छलफल गर्नुभयो ।

छलफलमा योजना आयोगका उपाध्यक्ष डा. शर्माले मिडियामा विकासका समाचारले प्राथमिकता पाउन नसकेको बताउनुभयो । त्यस्तै, महासंघका पूर्वअध्यक्ष मुल्मीले नागरिक स्वतन्त्रताको रक्षाका लागि पत्रकारिता जगतको महत्त्वपूर्ण भूमिका रहेको भनाइ राख्नुभयो ।

त्यसैगरी, छलफलको दोस्रो सत्रमा पत्रकार जमुना वर्षा शर्माले समावेशिता र पत्रकारिताबारे नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले र लेखक सावित्री गौतमसँग छलफल गर्नुभयो । महासंघका पूर्वअध्यक्ष गाउँलेले पत्रकारितामा पनि देशको वास्तविक तस्वीर झल्किनुपर्ने भनाइ राख्नुभयो । लेखक गौतमले शारीरिक उपस्थितिले मात्रै समावेशी नहुने भन्दै विषयवस्तुमा समावेशिता आवश्यक भएको धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन (वैशाख १३ र १४, पोखरा)द्वारा जारी पाँच बुँदे पोखरा घोषणापत्र
१. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको प्रहारप्रति सरकारको ध्यानाकर्षण गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्न यस सम्मेलन जोडदार माग गर्दछ । 
२. समाचार लेखेकै आधारमा पत्रकारमाथि भइरहेको धरपकड र गिरफ्तारीजस्ता घटनाको निन्दा गर्दै यस्ता गतिविधि तत्काल बन्द गरी संविधानप्रदत्त अधिकारको रक्षा गर्न माग गर्दछ । 
३. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्बाध उपभोग गर्दै नागरिक अधिकारको संरक्षण गर्न मिडियामैत्री कानून निर्माणका लागि माग गर्दछ । 
४. मिडिया सबलीकरण एवं त्यहाँ कार्यरत श्रमजीवि पत्रकारहरूको संरक्षणका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न सरकारसमक्ष माग गर्दै श्रमजीवि पत्रकार ऐन लागू गर्न सम्बद्ध सञ्चारमाध्यमहरूलाई आग्रह गर्दछ । 
५. गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन, यस प्रदेशको समृद्धिका लागि पत्रकारितामा समावेशिता, यसको माध्यमबाट समृद्धि, बालमैत्री पत्रकारिता र पर्यटन प्रवद्र्धनलगायतका विषयहरूलाई उच्च प्राथमिकता दिन प्रदेश सरकारको ध्यानाकर्षण गर्दछ ।

Facebook Comments