कक्षा १२ को परीक्षा शुरु

कक्षा १२ को वार्षिक परीक्षा आज आइतबारबाट शुरु भएको छ । बिहान ७ बजेदेखि कक्षा १२ को परिक्षा शुरु भएको हो । त्यस्तै वैशाख २९ गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

कक्षा १२ को परीक्षामा ४ लाख २८ हजार ५२ विद्यार्थी सहभागी भएका छन् । कक्षा ११ को परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ परीक्षार्थी सहभागी हुँदैछन् । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार कक्षा १२ र कक्षा ११ को परीक्षामा चार लाख ४२ हजार, नौ सय ९७ छात्र र चार लाख, ९३ हजार पाँच सय ४९ छात्रा सहभागी हुँदैछन् ।

आगामी २६ गते सम्पन्न हुने कक्षा १२ को परीक्षातर्फ साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थी रहेका छन् । बैशाख २९ मा शुरु भई जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहने बोर्डले जनाएको छ ।

सबभन्दा कम मनाङ जिल्लाबाट कक्षा ११ को परीक्षामा ५१ र कक्षा १२ मा ५९ तथा सबैभन्दा धेरै काठमाडौँ जिल्लाबाट कक्षा ११ मा ७१ हजार ५२७ र कक्षा १२ मा ६२ हजार पाँच सय ८८ परीक्षार्थी सहभागी हुने पनि बोर्डले जानकारी दिएको छ ।

बोर्डले परीक्षाका लागि देशभर एक हजार एक सय सात परीक्षा केन्द्र निर्धारण गरेकामा सबभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा एक सय २२ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक÷एक परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ । कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

Facebook Comments