स्याङजाको राष्ट्रिय टापु भञ्ज्याङ माविमा श्रीमदभागवत धनधान्याञ्चल ज्ञान महायज्ञ शुरू

स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा रहेको राष्ट्रिय टापु भञ्ज्याङ माविमा श्रीमदभागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आज आइतबारबाट शुरू भएको छ ।

महायज्ञकाे भूमि सुधार तथा गरिवी निवारणमन्त्री पद्म अर्यालले उद्घाटन गर्नुभएकाे हाे । उहाँले साे अवसरमा प्राविधिक शिक्षा अहिलेकाे समयमा अत्यावश्यक रहेकाे बताउनुभयाे ।

२०१९ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्म अध्यापन हुदै आएको छ । वालिङ नगरपालिका वडानं ११ स्वरेक टापुमा रहेको विद्यालयमा प्राविधिक शिक्षा सञ्चालानार्थ बैशाख २२ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हाे ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एवं श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका संयोजक कमल पंगेनीका अनुसार हाल उक्त सो विद्यालयमा हाल २ सय विद्यार्थी अध्ययनरत रहेका छन् । जस्मा ८५ प्रतिशत दलित विद्यार्थीहरु रहेका छन् ।

अध्यक्ष पंगेनीले प्राविधिक शिक्षा अहिलेको आबश्यकता भएकोले स्वरेकको मध्यभागमा रहेको उक्त विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गर्दा स्थानीयलाई सहज हुने बताउनुभयो ।

पंण्डीत ऋृषिकेश पोखरेलले कथा बाचन गर्ने महायज्ञबाट २ करोड उठाउने लक्ष्य राखिएकाे छ । महायज्ञमा खर्च ३० लाख हुने अनुमान आयोजकले गरेको पंगेनीको भनाई थियो । अहिले सम्म कलश र दान रकम गरेर १३ लाख संकलन भइसकेको बताइएको छ ।

उक्त विद्यालयका पुर्व विद्यार्थी पत्रकार समेत रहनु भएका श्रीमदभागवत  धनधान्याञ्चल ज्ञान महायज्ञका प्रचार प्रसार समितिका संयोजक घनश्याम पाण्डेयले प्राविधिक शिक्षाको लागि महायज्ञ गर्न लागिएकोले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सवैसंग आग्रह गर्नुभयो ।

पाण्डेयले महायज्ञ सफल बनाउन सवैको साथ सहयोग रहेकोमा जोड दिनुभयो । महायज्ञबाट संकलित रकमबाट सो विद्यालयमा कक्षा ११ र १२मा ब्यावसायिक तथा प्राविधिक शिक्षालय स्थापना तथा सञ्चालन गर्ने ,सुविधा सम्पन्न पुस्तकालय र ई लाइव्रेरी स्थापना गर्ने, विज्ञान प्रयोगशाला निर्माण गर्ने, आवसीय सुविधा सहितको छात्रवास निमार्ण गर्ने रहेको आयोजकले जनाएको छ ।

Facebook Comments