सडकमा मागेको देखेमा खबर गर्नुस, सरकारले खाने बस्ने व्यवस्था गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा मागेर जीवन जीउनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । उहाँले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको हो ।

कोही व्यक्ति सडकमा बाध्यतावश मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नुस् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सरकारले जिम्मेवारी लिन्छ ।’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

राष्ट्रिय योजना आयोगको आइतबार बसेको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले गरीब र अशक्तलाई सरकारले खान र बस्ने व्यवस्था मिलाउने बताउनुभयो । उहाँले आगामी १५ औं योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखामुनिको प्रतिशतमा उल्लेखनीय गिरावट आउने जिकिर समेत गर्नुभएको छ ।

आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानलाई सफल बनाउने बताउनुभयो । मुलुकको आर्थिक बृद्धिदरलाई दोहोरो अंकमा पुर्याउने प्रधानमन्त्तीको भनाई थियो ।

हरेक क्षेत्र र भूगोललाई उत्पादनमुखी र व्यावसयिक बनाएर मात्र मुलुकको समृद्धि सम्भव हुने प्रधानमन्त्रीको भनाई थियो । निर्माण व्यवसायीलाई क्षमताभन्दा बढी काम नदिइने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।

आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले समृद्धिको लक्ष सम्बोधन गर्ने गरी १५ औं योजना निर्माण भइरहेको बताउनुभयो । बैठकले आयोगले तयार गरेको पन्ध्रौँ आवधिक योजनाको अवधारणापत्रलाई मन्त्रिपरिषद्मा पेश गर्ने र केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको एकीकृत तथ्याङ्क पोर्टल अघि बढाउने निर्णय गरेको छ ।

Facebook Comments