घरेलु तथा साना उद्योहरुलाई राज्यबाट बेवास्ता भएको व्यवसायीहरुको गुनासो


घरेलु तथा साना उद्योहरुलाई राज्यले विशेष सुविधा र संरक्षण दिनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले राज्यले साना र घरेलु उद्योगहरुको प्रतिष्पर्धी क्षमता बढाउन, तालीम र अनुदानको व्यवस्थाको माग पनि गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग विकास कोषको सहयोगमा आइतबार पोखरामा आयोजित लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धनसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले आफूहरुले राज्यबाट खासै सुविधा नपाएको गुनासो पनि गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ घरेलु तथा साना उद्योग समितिका सभापति डिबी बस्नेतले देशमा भएको रोजगारीमा घरलु तथा साना उद्योगको ८५ प्रतिशत योगदान रहेको बताउँदै ती उद्योगहरुलाई बचाउनु राज्यको कर्तव्य भएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाले राष्ट्रिय पहिचानका सामाग्री उत्पादन गर्ने लघु तथा साना उद्योगहरुलाई राज्यले नै संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेश सरकारले लघु, साना तथा घरेलु उद्योगको विकासको लागि ३ करोड बजेटको व्यवस्था गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले हरेक व्यवसाय सुरु गर्दा बजारको अध्ययन गर्ने परम्पराको विकास गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका उपमहानिर्देशक हंशराम पाण्डेयले लघु, घरेलु तथा साना उद्योगहरुको अवस्था,उद्योग प्रवद्र्धनमा समस्या र चुनौतिहरु विषयक कार्यपत्र पेश गर्नुभएको थियो ।

उहाँले परम्परागत सीपबाट संचालन हुँदै आएका उद्योगहरु,कृषि तथा वन पैदावार, चिया, कफी, फलफूल र तरकारी, जडिबुटी, होटल, रेष्टुरेण्ट, गार्मेण्ट र हस्तकलामा आधारित भएर साना उद्योग संचालन गर्न सकिने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले साना उद्योगीहरुलाई दक्ष बनाउन तालिम केन्द्रको स्थापना गर्नुपर्ने, लघु तथा घरेलु उद्योगबाट उत्पादित सामानहरुको बिक्री र प्रदर्शनीको लागि छुट्टै बिक्री केन्द्रको स्थापना गरिनुपर्ने, सरकारी कार्यालयहरुले नेपालकै घरेलु र साना उद्योगबाट उत्पादित सामान प्रयोग गर्नुपर्ने, व्यवसायीको पहुँच हैन कि उसको कारोवार हेरेर ऋण तथा अनुदान दिइनु पर्ने लगायतका माग गरेका थिए ।

कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय कास्कीका उद्योग अधिकृत महराज ढकालले जनशक्तिको अभावमा आफ्नो कार्यालयले सोचेजस्तो काम गर्न नसकेको बताउनुभयो ।

Facebook Comments