बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा सहभागी हुन चिनियाँ राष्ट्रपति सिको आग्रह

चिनियाँ राष्ट्रपति सि चिनफिङले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा सहभागी हुन विश्वसमक्ष आग्रह गर्नुभएको छ । विश्व समुदायलाई नै आफूले अघि सारेको तथा चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना भएको भन्दै राष्ट्रपति सि यस्तो आग्रह गर्नुभएको हो ।

बेइजिङमा जारी बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआई) सम्मेलनको समापनका अवसरमा उहाँले चीनको सो महत्वाकांक्षी आयोजनामा सहभागिताका लागि विश्वका अरु नेताहरुलाई पनि आग्रह गर्नुभएको हो ।

उक्त सम्मेलनमा युरोप, अफ्रिका, एसिया, ल्याटिन अमेरिकाका विभिन्न ३७ देशका राज्य तथा सरकार प्रमुखहरु उपस्थित रहेका थिए । तीन दिने सो सम्मेलनको शनिबारको सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले संसारमा खुला अर्थतन्त्रको विकास गर्नुपर्छ र संरक्षणवादको विरोध गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इटालियन प्रधानमन्त्री गुसेप कान्ट, पाकिस्तानी प्रधानमन्त्री इमरान खान लगायतको सहभाागिता थियो । कतिपय विश्वका देशहरुले चीनको यो आयोजना महत्वाकांक्षी रहेको र यसबाट चीनले संसारमा आफ्नो प्रभाव र व्यापार विस्तार गर्ने भित्री चाहना राखेको भनेर पनि आलोचना गर्दै आएका छन् ।

चीनले हरेक दुई वर्षमा यो सम्मेलन गर्दै आएको छ । यस पटकको सम्मेलनमा पनि बेइजिङमा यस बिआरआई आयोजनाको सम्भाव्यता, यसबाट चीन र अरु विश्वका देशहरुमा पर्ने प्रभाव र फाइदाका विषयमा छलफल भएको थियो । सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्दी प्रदीप ज्ञवाली सहितको नेपाली टोलीले सहभागिता जनाएको थियो ।

Facebook Comments