गण्डकी प्रदेशमा मन्त्रालयको कामप्रति मन्त्री नै असन्तुष्ट

गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले सरकारले सोचे अनुरुपको काम गर्न नसकेको बताउनुभएको छ । प्रदेश स्तरीय कार्यप्रगति समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लम्सालले आफ्नो मन्त्रालयको कामप्रति आफैंले सन्तोष गर्न नसकेको बताउनुभएको छ ।

उहाँले कर्मचारीहरुको असहयोगका कारण बिकासमा साझेदारीमा समस्या भएको आरोप लगाउनुभएको छ । २० बर्ष नीति र्निमाणमा बसेका कर्मचारीहरु गोष्ठी र छलफलहरुमा यो भएन भनेर भाषण गरेको देख्दा अचम्म लाग्ने उहाँको भनाई थियो ।

कार्यक्रममा मन्त्री लम्सालले बिभिन्न बहानामा काम हुन नदिने परिपाटी अहिले पनि बिद्यमान रहेको बताउनुभयो । बिकासका लागि ट्रयाक परिबर्तन आबस्यक भएपनि कर्मचारीतन्त्रले नयाँ ट्रयाक मन नपराएकोले समस्या आएको उहाँको भनाई छ ।

पुरानै परिपाटीलाई निरन्तरताका लागि अहिलेको राजनीतिक परिवर्तन होइन भन्दै उहाँले कर्मचारीहरुलाई मुलुकको आर्थिक विकास र समृद्धिका लागि दृढ भएर काम गर्न आग्रह गर्नुभयो । बस्तुको उत्पादनका साथै बजारीकरण को ब्यबस्था मिलाउने योजना र्निमाण गर्न गोष्ठीको आयोजना भएकाले सोही खालका सुझाव दिन पनि उहाँले सहभागिहरुलाई आग्रह गर्नुभयो ।

प्रदेश सरकारले एक स्थानिय तह एक उद्योग ग्राम निर्माण गर्न लागेकोले सोही अनुसारको काममा लाग्न र जनताको जीवनस्तर सुधार हुने खालका कार्यक्रम ल्याउन उहाँको निर्देशन थियो । दुईदिन सम्म चल्ने गोष्ठीमा गण्डकी प्रदेशका ११ जिल्लाका मन्त्रालय अन्र्तगतका उद्योग अधिकृतहरुको सहभागिता रहेको छ ।

Facebook Comments