जनता उत्साहित र आशावादी :नेकपा नेता नेम्वाङ


नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जनता उत्साहित र आशावादी रहेको बताउनुभएको छ । संसदको चौंथो अधिवेशनको पहलिो बैठकमा सम्बोधन गर्ने क्रममा जनतामा निराशा छ भन्ने प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको भनाईप्रति कटाक्ष गर्दै उहाँले जनता अहिलेको सरकार र राजनीतिक प्रणालीप्रति उत्साहित रहेको बताउनुभएको हो ।

संविधानसभाका अध्यक्ष समेत रहनुभएका नेता नेम्वाङले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल बनाउने आधार तयार पारेको जिकीर गर्नुभयो । जनता निराश होइन, जनता उत्साहित र खुशी छन, नेम्वाङको भनाई थियो । प्रतिपक्ष र सत्तापक्ष सबै प्रकारका आग्रह र पुर्वाग्रहबाट माथि उठेर जनतालाई समृद्ध बनाउने दिशामा मिलेर अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो ।

समृद्ध नेपाल र सुखी नेपालीलाई व्यवहारमा प्राप्त गर्ने आधार तयार पार्ने काम भएको जिकीर गर्नुभएको छ । जनताले अब अधिकार प्राप्तिका लागि आन्दोलन गर्नु नपर्ने उहाँको भनाई थियो । प्रतिपक्ष सत्ताको महत्वपूर्ण अंग भएकाले सोही अनुरुपको भूमिका निर्वाह होस् भन्ने कामना गर्नुभयो । फौजदारी अपराध संहिता, देवानी संहिता, शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने, सत्य निरुपण तथा वेपत्ता छानविन आयोग निर्माणको सुनिश्चिता लगायतले मुलुकको विकासका लागि आधार तयार पारेको उहाँको भनाई थियो ।

नेता नेम्वाङले अधिवेशनतर्फ सबैका ध्यान गएको, नीति तथा कार्यक्रम तथा बजेट कस्तो हुने भन्ने विषय रहेकाले पनि महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । पारदर्शिता र जवाफदेहिता स्थापित गर्न प्रतिनिधिसभाको भूमिका हुने नेम्वाङको भनाई थियो ।

मिलेर मुलुकको विकास गर्नुबाहेक अन्य विकल्प नरहेको उल्लेख गर्दै उहाँले अहिलेको राजनीतिक परिवर्तन असफल भएमा सत्तापक्ष र प्रतिपक्ष सबै असफल हुने बताउनुभयो । आन्दोलन गरेर स्थापित गरेको राजनीतिक प्रणाली नै असफल हुने भएकाले सबैको सहयोगमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

Facebook Comments