पोखराको पृथ्वीचोक नागढुंगा क्षेत्रमा ४४ चौतारी बन्ने

पछिल्लो समय विकास निर्माणका नाममा पुराना चौतारीहरु भत्काएको भन्दै विरोध भइरहेका बेला पोखरा ८ मा भने चौतारी बन्ने भएका छन् । पोखरा महानगरपालिका वडा नम्वर ८ स्थित नागढुङ्गादेखि पृथ्वीचोक सम्म सडक छेउमा हुर्किएका बृक्षाहरुको संरक्षण तथा सौन्दर्यकरणका लागि चौतारीहरु निर्माण गर्न लागिएको हो ।

पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले सोमबार एक कार्यक्रमका विच चौतारी निर्माण कार्यको शिलन्यास गर्नुभयो । निर्माण कार्यको शिलन्यास गर्दै वडाध्यक्ष बरालले पोखरालाई हरित सहर बनाउनका लागि बृक्षारोपणको खाँचो रहेको औल्याउनुभयो ।

उहाँले बृक्षारोपण गरेर मात्रै नहुने, हुर्किएका बृक्षाहरुको उचित संरक्षण पनि गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै इन्जिनियर सुरेन्द्र पौडेलले पोखरा कंक्रिट जंगल बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । बढ्दो शहरिकरण तथा अव्यवस्थित बसोवास पोखराका चुनौती बन्दै गएको इन्जिनियर पौडेलले भनाई थियो ।

वडा सदस्य समेत रहनुभएका चौतारी निर्माण अनुगमन समितिका संयोजक पुष्पराज सिग्देलले पृथ्वीचोक–नागढुङ्गा विमानस्थल नजिकैको क्षेत्र भएकाले पोखरा आउने पर्यटकहरु यहि बाटो हिंड्ने हुँदा यसको सौन्दर्यकरण जरुरी भएको बताउनुभयो ।

कार्यक्रम सञ्चालन गर्दै नागढुङ्गा चौतारी निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद लामिछानेले झण्डै सात सय मिटर क्षेत्रफलमा ४४ वटा चौतारी निर्माण गरिने जानकारी दिनुभयो । समितिले अघि सारेको कार्यक्रमलाई आत्मासाथ गर्दै आर्थिक सहयोग उपलब्ध गराएकोमा महानगर तथा वडालाई पनि धन्यबाद ज्ञापन गर्नुभयो ।

Facebook Comments