नयाँ शक्ति र संघीय समाजवादी फोरमवीच एकता निश्चित

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल पार्टीबीच एकता गर्ने सहमति भएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीवीच पार्टी एकीकरणका लागि लामो समयदेखिको प्रयास निष्कर्षमा पुगेको हो ।

शनिबार नयाँ शक्तिको पार्टी कार्यालय बबरमहल काठमाडौंमा बसेको दुई पार्टीका शीर्ष नेताहरुवीच भएको छलफलमा आगामि बैशाख २३ गते सोमबार एकता घोषणा गर्ने सहमति भएको बताइएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टी नेपाल घोषणा गर्ने बताइएको हो । विज्ञप्तिमा भट्टराई र यादवले हस्ताक्षर रहेको छ । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहमा समाजवादी पार्टी नेपालको घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)वीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टीमा जस्तै नयाँ बन्ने समाजवादी पार्टीमा पनि भट्टराई र यादव दुवै अध्यक्ष हुने सहमति भएको छ ।

सहमति अनुसार संघीय परिषदको अध्यक्षता भट्टराईले गर्ने र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने तय भएको छ । त्यस्तै पार्टीभित्र बरियताक्रममा बाबुराम पहिलो र त्यसपछि उपेन्द्र रहने पनि निश्चित भएको छ । संघीय संसदमा नयाँ शक्तिबाट १ जना र फोरमबाट १६ जना सांसद रहेका छन् ।

Facebook Comments