प्रदेश नं. ५ को नाम लुम्बिनी राख्न सिफारिस

लामो समयदेखि थाती रहेको प्रदेश नामाकरणको विषयले पुनः चर्चा पाउन थालेको छ । मुलुकका ७ मध्ये ३ प्रदेशको यसअघि नै नामाकरण भइसकेको छ । कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेश नामाकरण भइसकेको छ भने प्रदेश १, २, ३ र ५ को नामाकंरण तथा राजधानी तोक्ने काम हुन बाँकी रहेको छ ।

प्रदेश नं. १ र ५ मा राजधानी बनाउने विषय भने पेचिलो बनिरहेको छ । राजनीतिक दलका नेताहरुको स्वार्थका कारण समेत राजधानी तोक्ने विषय पेचिलो बनेको हो । यसैवीच प्रदेश नम्बर ५ को प्रदेशसभामा राजधानीको नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको विशेष समिति मातहतको उपसमितिले आफ्नो प्रतिवेदन पेश गरेको छ । मूल समिति समक्ष पेश गरिएको प्रतिवेदनमा प्रदेशको नाम लुम्बिनी राख्न सिफारिस गरिएको छ ।

उपसमितिले सिफारिस गरेसँगै प्रदेश नं. ५ को नाम लुम्बिनी रहने लगभग निश्चित भएको छ । स्थायी राजधानीका लागि भने ३ वटा स्थानलाई प्रस्ताव गरेको छ । जसमा प्रदेश नं. ५ को हालको अस्थायी केन्द्र रहेको रूपन्देही, दाङ वा कपिलबस्तुमा बनाउन उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ ।

उपसमितिले प्रदेशका १२ वटै जिल्लाबाट संकलन भएका सुझावका आधारमा तयार पारेको प्रतिवेदन आइतबार मुल समितिको बैठकमा पेश गर्दैछ । मुलसमितिले आवश्यक छलफल र निर्णय दिन प्रक्रिया पुरा गरी प्रदेश सभामा पठाउने कार्यविधि रहेको छ ।

Facebook Comments