पार्टीमा परिवर्तन गर्ने जोस जाँगर हराउँदै गयो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा मुलुकको समृद्धिका लागि जोस, जाँगर र उत्साह हराउन थालेको गुनासो गर्नुभएको छ । आइतबार कार्ल माक्र्सको २०१ आंै जन्मजयन्तीको अवसरमा कार्ल माक्र्स, द्धिसतबार्षिकी समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्ध कालमा जस्तो संसार जित्ने उत्साह पार्टीमा नरहेको बताउनुभएको हो ।

उहाँले कार्ल माक्र्सले आफ्नो सम्पूर्ण जीवन सर्वहारा वर्ग र श्रमजीविको निम्ति त्याग, तपस्या र बलिदान गरेर वितेको भन्दै अहिले नेपाल कम्युनिष्ट पार्टीका नेताहरु कार्ल माक्र्सभन्दा सम्पन्न भएको उल्लेख गर्नुभयो । अहिले हरेक नेताका घर, गाडी लगायतका सुविधा छन्, यसले कम्युनिष्ट आन्दोलनमा कहि न कही गल्ती भएको छ, प्रचण्डको भनाई थियो ।

अब त्यसलाई खोज्नुपर्ने, अनुसन्धान गर्नुपर्ने जिम्मेवारी नेकपाको काँधमा रहेको भन्दै आफैं बदलिनुपर्ने प्रचण्डको भनाई थियो । उहाँले भन्नुभयो, ‘हामीले एकपटक साँच्चै संकल्प गर्यौँ भने यो परिस्थितिलाई बदल्न सकिन्छ । र हामीले बदल्नुपर्छ ।’

प्रचण्डले जनयुद्धमा थोरै संख्या हुँदापनि संसार जित्ने उत्साह रहेको भन्दै अहिले ठुलो पार्टी हुँदा पनि त्यो खालको जोस जाँगर र उत्साह नदेखिएको उल्लेख गर्नुभयो । ‘हिजो हामी जनयुद्धका समय कहिले जंगलमा सुतियो, कहिले कहाँ ।

कतिपय नेताहरुले माओवादीलाई जंगली भन्नेहरुप्रति इंगित गर्दै उहाँले भन्नुभयो, त्यतिवेला जंगल जस्तो लाग्दैनथ्यो, जनताका बीचमा, कार्यकर्ता सबैको विश्वास, प्रेम, भरोसाको बीचमा भएजस्तो लाग्थ्यो । एक्लै हुँदा पनि लाखौँ करोडौँ जनताको बीचमा भएजस्तो अनुभूति हुन्थ्यो । अहिले यहाँ लाखौँको बीचमा काठमाडौँ आउँदा एक्लै भएजस्तो लाग्न थाल्यो ।’ पार्टीमा भावनात्मक एकता, साथीवीचको आत्मियता, हार्दिकता हराउँदै गएकोमा प्रचण्डले चिन्ता व्यक्त गर्नुभयो ।

अर्को एक प्रसंगमा अध्यक्ष प्रचण्डले दुई दिनभित्र पार्टी एकीकरणका बाँकी कामलाई पनि पूर्णता दिने बताउनुभयो । अव जनसंगठनहरुको एकीकरण र नेताहरुको जिम्मेवारी बाँडफाँडको छिट्टै हुने उहाँको भनाई छ ।

Facebook Comments